
काठमाडौं, २५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रका समस्या हल गर्न तत्काल नतिजामुखी काम गर्नु जरुरी रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा ग्लोबल आइएमई बैंक तथा बैंक अफ काठमाडौबीच मर्जर भई एकीकृत कारोवारको शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारको पहिलो मन्त्रिपरिषदको बैठकबाटै अर्थतन्त्रलाई गतिशिल बनाउन वित्तीय, औद्योगिक र मौद्रिक नीतिको सन्तुलित कार्यान्वयन गर्ने लगायतका निर्णय गरिएको भन्दै अर्थतन्त्रका समस्या हल गर्न तत्काल नतिजामुखी काम गर्नु जरुरी रहेको बताएका हुन् ।
अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न नीजि क्षेत्रसँगको सहकार्य र सहयोगलाई वस्तुपरक रुपमा घनिभूत गराउने प्रधानमन्त्रीले बताए । प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि संरचनात्मक सुधार पनि आवश्यक रहेकाले यसतर्फ पनि सरकारको ध्यान गएको बताए ।
उनले निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न आवश्यक नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आम जनताको वित्तिय क्षेत्रमा पहुँच, वित्तिय साक्षरता र स्वरोजगारका क्षेत्रमा समेत बैंकिंग क्षेत्रले योगदान गर्नु जरुरी रहेको बताए ।
दुई ठूला बैंक एक आपसमा गाभिएर एकीकृत कारोबार शुभारम्भ हुनु राष्ट्रको लागि महत्वपूर्ण कदम रहेको भन्दै यसबाट देशले अझ बलियो, थप विविध र थप गतिशील बैंकिङ क्षेत्र प्राप्त गर्ने विश्वास प्रधानमन्त्री प्रचण्डले व्यक्त गरे । त्यस्तै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अब बैंकहरुले राष्ट्रिय उत्पादन बृद्धि गर्ने क्षेत्रमा लगानी गर्न आवश्यक देखिएको बताए ।
अधिकारीले वित्तिय संस्था धेरै हुँदा वित्तिय खर्च धेरै बढेको र अस्वस्थ्य प्रतिष्पर्धा समेत बढेकोले मर्जरमा जोड दिएको धारणा राखे ।















प्रतिक्रिया