
धुलिखेल, २५ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका जनसंगठनहरू मकैको ढोडजस्तो होइन, कटबाँस जस्तो बलियो हुनुपर्ने बताएका छन् ।
जनसंगठनहरूको सुदृढीकरणका लागि काभ्रेको धुलिखेलमा आज शुरु भएको दुईदिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टीका जनसंगठनहरू जुझारू र बलियो हुनुपर्ने बताएका हुन् ।
‘पोखरीमा जमेको पानी जस्तो होइन, झरना जस्तो हुनुपर्छ जनसंगठन,’ ओलीले अगाडि भने, ‘मकैको ढोड जस्तो होइन, जनसंगठन कटबाँस जस्तो बलियो हुनुपर्छ ।’ त्यस्ता जनसंगठनले पार्टीबाट निर्देशित, पार्टीका नीति, विचार र सिद्धान्त बोक्ने, विकृति र विसङ्गतिविरुद्ध सशक्त हुनुपर्ने अध्यक्ष ओलीको भनाइ छ ।
अध्यक्ष ओलीले पार्टी भन्दा पहिला जनसंगठन जन्मिएको बताउँदै त्यसको संरक्षण मात्रै होइन, पार्टीको मियोका रुपमा कार्य गर्न निर्देशन दिएका छन् । एमालेका नौलाख सदस्यहरू जनताको घर–घर पुगेर आगामी निर्वाचनमा एक्लै ठूलो र पहिलो पार्टी बन्ने गरी लाग्नुपर्ने उनको भनाइ छ ।
पार्टीका जनसंगठनहरू जुझारू हुनुपर्नेमा ओलीको जोड छ ।
कार्यशाला गोष्ठीमा महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल, सचिवहरू गोकर्ण विष्ट र योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरू काशिनाथ अधिकारी, सीता पौडेल, थममाया थापा र केन्द्रीय सदस्यहरूको उपस्थिति छ ।
पार्टीको जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता संयन्त्रका प्रमुख भानुभक्त ढकालले गरेका थिए । कार्यशालामा सबै जनसंगठनका पदाधिकारीहरूको सहभागिता रहेको जानकारी संयन्त्रले दिएको छ ।















प्रतिक्रिया