३१ आश्विन २०८३, शनिबार

जागृति परिवारमा ‘प्रेम थापा’ पुस्तक विमोचन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खरसाङ (भारत), २४ पुस। भारतीय नेपाली समाजका सुपरिचित राजनीतिज्ञ, साहित्यकार, सामजिक कार्यकर्ता तथा शिक्षक स्व. प्रेम थापामाथि लेखिएको पुस्तक भारतीय साहित्यका निर्माता ‘प्रेम थापा’ शनिबार जागृति परिवारमा विमोचन भएको छ ।

भारतीय नेपाली समाजका नाटककार पूर्ण गुरुङ ‘निरुपम’ले लेखेका पुस्तक दार्जीलिङ पहाडी भएको ५० वर्ष पुरानो नाट्य संस्था ‘जागृति परिवार’को भवनमा अध्यक्ष खेमराज राई र पत्रकार सञ्जय प्रधानले विमोचन गरे । नयाँ दिल्लीस्थित साहित्य अकादेमीले यो पुस्तक प्रकाशित गरेको हो ।

२१ फरवरी १९३३ मा खरसाङको मकैबारी चियाबगानदेखि केही तल लङ्भ्यूको चिलाउने धुरामा जन्मिएका प्रेम थापा हास्यव्यंग्य साहित्यकार थिए । पेशाले खरसाङको सन्त अल्फन्सस स्कूलमा शिक्षक रहेका थापा शिक्षा र राजनीतिक क्षेत्रमा पनि उत्तिकैं चर्चित थिए ।

भारतीय नेपाली साहित्य क्षेत्रमा उनको महत्त्वपूर्ण योगदान रहेको छ । यस पुस्तकले उनको व्यक्तित्व परिचयका साथमा सामाजिक, राजनीतिक र साहित्यिक क्षेत्रबारेमा विशेष गुणहरू उजागर गरेको छ । यसका साथै उनका व्यङ्ग्यात्मक रचनाहरूकाबारेमा विशेष रुपमा लेखक पूर्ण गुरुङ ‘निरुपम’ले पुस्तकमा प्रकाश पारेका छन् । स्वर्गिय थापा सन् १९१३ मा स्थापना भएको भारतीय नेपालीहरूको सबैभन्दा जेठो संस्था खरसाङको गोर्खा जन पुस्तकालय र सन् १९३५ मा स्थापित गोर्खा दुस्ख निवारक सम्मेलन (जीडीएनएस)सँग सामाजिक कार्यको निम्ति संलग्न थिए ।

सामाजिक कार्यलाई निरन्तरता दिन सन् १९५८ मा खरसाङ नगरपालिकाको निर्वाचनमा निर्वाचित भएर थापाले नगरपाल बनेर समाज विकासका कार्यहरू गरे । सन् १९७५ मा अनि १९८४ मा पनि उनी नगरपालको रुपमा निर्वाचित भएर जनसेवाका कार्यहरूलाई निरन्तरता दिए । सन् १९८६ मा गोर्खाल्याण्ड आन्दोलनको दौरान सीआरपीएफको गोलीकाण्डमा पाँचजनाको ज्यान गएको थियो । यसै घटनाको विरोध जनाउँदै थापाले नगरपालको पदबाट राजीनामा दिएका थिए ।

सन् १९७९ मा भारतका तत्कालीन प्रधानमन्त्री स्व. मोरारजी देसाई दार्जीलिङ आएका बेलामा नेपाली भाषालाई मान्यता दिलाउने माग चर्किएको थियो । थापा भारतको सत्ताधारी दल जनता दलमा भएको हुँदा नेपाली भाषा मान्यताको माग लिएर आफ्नो प्रतिनिधि टोली लिएर गएका थिए ।

प्रधानमन्त्री मोरारजी देसाईले नेपाली भाषालाई विदेशी भाषा भन्दा तत्कालै विरोध जनाउँदै थापाले ‘मोरारजी देसाई मुर्दावाद !’को नारा लगाएर प्रतिवाद गरेका थिए । सन् १९८० मा उनी ‘छुट्टै प्रान्त’ अर्थात राज्यको माग गर्दै दार्जीलिङ प्रान्त परिषदमा सक्रिय भए । उनी छुट्टै प्रान्तको माग गर्न स्थापित गरिएको ‘दार्जीलिङ प्रान्त परिषद’को एकजना संस्थापक थिए ।

सन् १९६९ मा उनी अखिल भारतीय गोर्खालीगबाट पश्चिम बङ्गाल विधानसभाको चुनावमा खरसाङ(सिलगढी विधानसभाबाट निर्वाचित भएर विधायक बनेका थिए । त्यति बेला सिलगढी खरसाङ विधानसभा समष्टिभित्र नै अन्तर्भुक्त थियो ।

साहित्यको क्षेत्रमा उनका दर्जनौं व्यङ्ग्यात्मक कथा, निबन्धहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भएका छन् । सन् १९६२ मा कथा सङ्ग्रह ‘प्रेम स्मारक’ र सन् २००१ मा ‘प्रेम थापाका कथाहरू’ (कथा सङ्ग्रह) पुस्तक प्रकाशित भएका छन् । थापाको १७ सेप्टेम्बर २००१ मा निधन भएको थियो।

जागृति परिवार स्वर्ण वर्षमा प्रवेश

सन् १९७३ मा खरसाङमा नाट्य संस्था ‘जागृति परिवार’ स्थापना भएदेखि करिब ३६ वटा नाटकहरू मन्चन गरिसकेको छ । यस वर्ष २९ जुलाईमा जागृति परिवारको ५० वर्ष अर्थात स्वर्ण वर्ष पूरा हुनेछ ।

स्वर्ण वर्षको कार्यक्रम भव्य रुपमा मनाउन शनिबार जागृति परिवारका अध्यक्ष खेमराज राईको अध्यक्षतामा बैठक बसेको छ । यसैबीच, कालेबुङ प्रेस क्लबबाट ‘एक्सिलेन्स इन् जर्नलिजम’ पुरस्कार प्राप्त गरेका जागृति परिवारका सदस्य सञ्जय प्रधानलाई परिवारका सदस्यहरूले बधाई साथै शुभकामनासमेत दिएका थिए ।

जागृति परिवारले स्वर्ण जयन्ती मनाउनका लागि प्रकाश प्रधानको संयोजकत्वमा १६ जनाको उपसमिति गठन गरेको छ ।