
काठमाडौं, २३ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत पुग्न नदिने कांग्रेसको प्रयासलाई सफल हुन नदिने बताएका छन् ।
शनिबार संसद भवन नयाँ बानेश्वरमा एमालेले आयोजना गरेको नेपालमा संसदीय प्रक्रिया तथा कानून तर्जूमा विषयक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत पुग्न नदिन कांग्रेसले अनेक प्रयास गरिरहेको भन्दै त्यसलाई सफल हुन नदिने बताएका हुन् ।
विश्वासको मत पुग्न नदिन कांग्रेस सभापति शेर बहादुर देउवाले केही दललाई प्रधानमन्त्रीको अफर गरेको उनले बताए । अबको ५ वर्ष कांग्रेसको धन्धा सरकारको विरोध गर्न वा ढाल्नमा रहने ओलीको भनाइ छ ।
ओलीले वर्तमान सरकारलाई सफल पार्नु सबैको कर्तव्य भएको भन्दै सुशासन र विकासको लागि उचित र आवश्यक कदम चाल्नका लागि उपयुक्त ढंगले सुझाव दिनुपर्ने बताए । समयमा नै उपस्थीत भएर प्रधानमन्त्रीलाई विश्वासको मत दिन अध्यक्ष ओलीले सांसदहरुलाई निर्देशन दिए ।
त्यस्तै ओलीले नेपालमा सरकार बनाउने बिषयमा बाह्य हस्तक्षेप हुन खोजेको र त्यसलाई असफल बनाइएको जिकिर गरे । उनले छिमेकी सबैसँग समान सम्बन्ध राख्न चाहेको र नेपालमा सरकार बनाउँदा आतिनुपर्ने अवस्था नरहेको बताए ।
उनले सांसदको हैसियतले गर्नुपर्ने कामलाई प्राथमिकता दिनका लागि ध्यान दिनुपर्ने बताए । अभिमुखीकरण कार्यक्रम दुई दिनसम्म चल्ने छ ।















प्रतिक्रिया