३१ आश्विन २०८३, शनिबार

एमालेद्वारा बुद्ध एयरका संस्थापक बस्नेतको निधनप्रति दुःख व्यक्त

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । नेकपा एमालेले बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधनप्रति दुःख व्यक्त गरेको छ ।

बुद्ध एयर स्थापना गरेर नेपालको हवाई सेवामा निजी क्षेत्रको प्रवेश, विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेका व्यवसायी बस्नेतको निधनमा एमालेले गहिरो दुःख व्यक्त गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उनको परिवारलाई समवेदना सन्देश पठाई स्व. बस्नेतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नाका साथै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् । अध्यक्ष ओलीले पठाएको सन्देश पार्टीका महासचिव शंकर पोखरेलले स्व. बस्नेतको परिवारलाई भेटी हस्तान्तरण गरेका छन् ।

अध्यक्ष ओलीको सन्देशमा बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष बस्नेतले नेपालको हवाई सेवामा पुर्याएको योगदान अविस्मरणीय रहेको उल्लेख गरिएको छ । साथै, सरकारी सेवा तथा निजी व्यावसायिक क्षेत्रबाट उनले देशका लागि गरेका काम अनुशरणीय रहेको पनि ओलीको सन्देशमा उल्लेख छ ।

भोजपुरको दिङ्लास्थित साल्मामा जन्मिएका सुरेन्द्रबहादुर बस्नेतले सर्वोच्च अदालतको न्यायाधीश, प्रमुख निर्वाचन आयुक्त, प्रेस काउन्सिल नेपालको अध्यक्ष लगायत विभिन्न भूमिकामा रहेर राष्ट्रसेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनको यही पुस १० गते निधन भएको हो ।