
काठमाडौं, २२ पुस । नेपाली कांग्रेसले वर्तमान सत्ता गठबन्धन भत्काउने प्रयासमा नरहेको स्पष्ट पारेको छ ।
शुक्रबार धुम्बाराहीमा बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकपछि महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस वर्तमान सरकार गठबन्धन भत्काउने प्रयासमा नरहेको र कसैलाई प्रधानमन्त्री बनाउने अफर नगरेको बताएका हुन् ।
उनले कांग्रेसले कसैलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको र नयाँ समीकरण बनाउने भन्ने हल्लामा सत्यता नरहेको भन्दै भ्रममा नपर्न आग्रह गरे ।
उनले कांग्रेसले अब जिम्मेवार र सालिन ढंगले आवश्यक भूमिका निर्वाह गर्ने स्पष्ट पारेका छन् । बैठकमा शनिबार बस्ने संसदीय दलको बैठक र केही दिनपछि बस्ने केन्द्रीय कार्यसमितिको बैठकको विषयमा छलफल भएको उनले जानकारी दिएका छन् ।
यसअघि भएका कमीकमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । उनले पार्टीभित्र सम्हालिएर, एक भएर र आत्मआलोचना गरेर अघि बढ्ने जिकिर गरेका छन् ।















प्रतिक्रिया