
हेटौंडा, २१ पुस । सस्तोमा अमेरिकी डलर दिने आश्वासन दिएर ठगी गर्दै हिँडेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न व्यक्तिहरूलाई मोबाइलबाट सम्पर्क गरेर आफूसँग अमेरिकी डलर रहेको र सस्तोमा साटिदिने भन्दै लोभ देखाएर नेपाली रूपैयाँ लुट्ने चार जनालाई अमेरिकी डलर, नेपाली रूपैयाँ र विभिन्न सामानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीका अनुसार पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–३ बस्ने २१ वर्षीय हरि भन्ने सोमबहादुर डुम्जन, सोही ठाउँका ३३ वर्षीय दिवश डुम्जन, ४ नम्बर वडाका २८ वर्षीय कान्छा भन्ने शेरबहादुर तामाङ, त्रिपुरा गाउँपालिका–३ बस्ने २८ वर्षीय सुक भन्ने देवा डुम्जुन छन् ।
डीएसपी कार्कीले बुधबार दिउँसो विशेष सूचनाको आधारमा हेटौंडा–१७ हटियास्थित सालक पार्कबाट उनीहरूलाई पक्राउ गरिएको जानकारी दिएका छन् । उनले उक्त समूहबाट एक जना फरार रहेको र थप अनुसन्धान भइरहेको बताएका छन् ।
उनीहरूको साथबाट १ हजार ७४१ अमेरिकी डलर, नेपाली ६ हजार २१० रूपैयाँ, बा ५० प ९३७२ नम्बरको मोटरसाइकल, बागमती प्रदेश ०२–०१९ प ९६२६ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२–०३४ प ४२८७ नम्बरको मोटरसाइकल बरामर गरेको प्रहरीले जनाएको छ ।
यसैगरी उनीहरूको साथबाट कागजको नक्कली नोट ८ बन्डल, गुलेली ३ थान, मट्याङ्ग्रा (साना ढुङ्गाहरू), मोबाइल ५ थान र मोटरसाइकलको बिलबुक दुई थान बरामद भएको छ । पक्राउ परेकाहरूमाथि जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया