
काठमाडौं, २१ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमै उत्पादित सामग्रीहरुको प्रयोगमा जोड दिएकी छिन् ।
बिहीबार जुत्ता उत्पादक सङ्घले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको १६औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै गर्दै राष्ट्रिय उत्पादनलाई प्राथमिकतामा राख्दै निर्यातमा जोड दिनुपर्ने बताइन् ।
उनले मुलुकले ब्यहोरिरहेको व्यापार घाटालाई न्यूनीकरण गर्नका लागि निजी क्षेत्र र सरकार मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।
यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् । वाणिज्य तथा आपूर्ति सचिवलाई मन्त्रालयमा बोलाएर प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका हुन् ।
हेरौँ दिनभरका मुख्य -मुख्य समाचारका हेडलाइनहरु-
१. निर्यात प्रवर्द्धनमा राष्ट्रपतिको जोड : नेपालमै उत्पादित सामग्रीहरूको निकासी प्रवर्द्धन गर्नसके मुलुकले व्यहोरिरहेको चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने राष्ट्रपति विद्यादेवी भण्डारीको भनाई, सरकार र उद्यमीहरूबीचमा पर्याप्त साझेदारी निर्माण हुनुपर्नेमा जोड ।
२. पेट्रोलियम पदार्थको मूल्य घटाइँदै : आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाएकोप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा चासो व्यक्त, तत्काल मूल्य घटाउन वाणिज्य तथा आपूर्ति सचिवलाई दिए निर्देशन ।
३. माघ २५ गते निर्वाचन हुँदै : राष्ट्रिय सभाको उप–निर्वाचन आगामी माग २५ गते गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय, अर्थ सचिवमा तोयम राय र राजस्व सचिवमा डा. रामप्रसाद घिमिरेलाई ल्याउने निर्णय ।
४. प्रतिवेदन बुझाइँदै : सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठित कार्यदलले भोलि शुक्रबार शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाउने, सरकारमा सहभागी दलहरूको सुझाव लिदै मस्यौदा तयार पारिएको कार्यदल संयोजक समेत रहेका उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलको भनाइ ।
५. देउवा–यादव भेट : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता, समसामायिक राजनीतिक विषयवस्तुमा छलफल ।
६. वरिष्ठ उपाध्यक्ष पोखरेल ढाका प्रस्थान : बंगलादेश क्रान्तिकारी श्रमिक पार्टीको १०औँ महाधिवेशनमा भाग लिन एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बंगलादेशको ढाका प्रस्थान, शुक्रबार महाधिवेशनलाई सम्बोधन गर्ने ।
७. निरन्तर अनुगमनमा गृहमन्त्री : उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन् ।
८. राजेन्द्र पनि उपप्रधानमन्त्री बन्दै : अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा सहभागी हुँदै, अध्यक्ष लिङ्देन उपप्रधानमन्त्री बन्दै ।
९. नयाँ सरकारका लागि आह्वान : बागमतीमा नयाँ सरकार गठनका लागि पुस २५ गते सोमबार अपराह्न ४ बजेसम्म दाबी पेश गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्माको आह्वान, लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले दिए पुस २७ गते बुधबार ४ बजेसम्मको म्याद ।
१०. प्रहरीको छापा : प्रहरीद्वारा गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय र टेकुस्थित श्रम तथा रोजगार कार्यालयमा छापा, २५ जनाभन्दा धेरै बिचौलिया पक्राउ ।
११. वाम एकताको पहल : वाम एकता पहलका लागि कार्यदल गठन गर्ने नेकपा एकीकृत समाजवादी पार्टीको निर्णय, सरकारलाई समर्थन तथा सहभागिताको विषयमा पार्टीको स्थायी कमिटी र पोलिटब्युरोको बैठक अनिर्णित, औपचारिक प्रस्ताव आउनुपर्ने अडान ।
१२. अर्थतन्त्र निर्माणमा जोड : निर्यातसम्बन्धी हरेक कार्यक्रमहरू मुलुकको अर्थतन्त्रसँग महत्वपूर्ण रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको भनाई, महासंघको भिजन पेपरमा पनि निर्यात बढाउँदै उत्पादनमुखी अर्थतन्त्र निर्माणमा जोड दिएको दाबी ।
१३. सुनको मूल्यले ब्रेक गर्यो वर्षकै रेकर्ड : नेपाली बजारमा बिहीबार सुनको मूल्यले यो वर्षकै रेकर्ड तोड्यो । बिहीबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार एक सय, तेजाबी सुन प्रतितोला एक लाख दुई हजार छ सय र चाँदी प्रतितोला एक हजार ३ सय ८५ रूपैयाँमा कारोबार ।
१४. श्रीलंकालाई सहयोग : आर्थिक सङ्कटबाट गुज्रिएको दक्षिण एसियाली टापु राष्ट्र श्रीलङ्कालाई आर्थिक एवम् प्राविधिक सहयोग गर्ने संयुक्त राष्ट्र संघको प्रतिवद्धता, मुलुकको दीर्घकालीन आर्थिक पुनरुत्थान र वृद्धि सुनिश्चित गर्न कठोर निर्णय लिनुपर्ने भनाई ।
१५. प्लेअफको सम्भावना कायमै : काठमाडौंमा जारी नेपाल टी–ट्वान्टी लिगमा काठमाडौं नाइट्सलाई पराजित गरेपछि फार वेस्ट युनाइटेडको प्लेअफ सम्भावना कायमै, काठमाडौं नाइट्स ८४ रनले पराजित ।















प्रतिक्रिया