३१ आश्विन २०८३, शनिबार

जिफन्टले चार वर्षमा २० लाख श्रमिकलाई सामाजिक सुरक्षामा आवद्ध गराउने

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । नेकपा एमालेसम्बद्ध जनसंगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले आगामी चार वर्षमा २० लाख श्रमिकलाई सामाजिक सुरक्षामा आवद्ध गराउने भएको छ ।

राजधानीमा आज आयोजित ‘सञ्चारकर्मीसँग संवाद’ विषयक अन्तरक्रिया कार्यक्रममा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले २० लाख श्रमिकलाई आबद्ध गराउन अभियान नै सुरू गरिसकेको र हरेक पालिका र वडाबाट श्रमिकको सूची लिने तयारी भएको जानकारी दिए ।

पर्यटन, विद्यालय, व्यापार व्यवसाय, यातायात सबैतिर श्रमिकहरूको शोषण भइरहेको बताउँदै उनले त्यसको यकिन तथ्याङ्क सङ्कलन गरी समस्या समाधानका लागि जिफन्ट सक्रिय हुने बताएका छन् । नेपालमा कति श्रमिक श्रमबजारमा काम गरिरहेका छन् र कति श्रमिक शोषणमा परेका छन् भन्ने सरकारसँग यकिन तथ्याङ्क नरहेको चर्चा गर्दै अध्यक्ष श्रेष्ठले त्यसको लगत लिने काम जिफन्टले गरिरहेको बताए ।

जिफन्टले सबै श्रमिकको पेन्सनको माग विगतदेखि उठाउँदै आए पनि अहिलेसम्म समाधान नभएको बताउँदै अध्यक्ष श्रेष्ठले श्रमिकको मुद्दा सम्बोधनका लागि मिडियासँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।

कार्यक्रममा एमाले प्रचार विभागका सचिव गगन विष्टले श्रमिकको मुद्दा संवेदनशील रहेकाले त्यसमा मिडियाले साथ दिनुपर्ने बताए । प्रचार विभागले त्यसबारेमा मिहिन ढंगले काम गर्ने योजना बनाएको विष्टले जानकारी दिएका छन् ।

जिफन्टका प्रचार सचिव महेन्द्र श्रेष्ठले जिफन्टले श्रमिकको मुद्दामा लामो समयदेखि पैरवी र समस्या समाधानको नेतृत्वदायी भूमिका निर्वाह गरे पनि मिडियासँगको समन्वयको अभावमा विषयलाई स्थापित गर्न नसकिएको चर्चा गरे । आगामी दिनमा श्रमिकको मुद्दा सम्बोधनमा मिडियाको साथ, सहयोग र सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रममा सञ्चारकर्मीहरूले जिफन्टले स्थापनाकालदेखि श्रमिकको मुद्दामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको भए पनि मिडियासँग सहकार्य र समन्वय गर्न नसक्दा जति सम्बोधनको काम हुनुपर्ने त्यति हुन नसकेको बताए । श्रमिकको मुद्दा र विषय हेर्ने पत्रकारको समूह बनाएर विट रिपोर्टिङका लागि संस्थाले काम गर्नुपर्ने पत्रकारहरूले सुझाव दिएका छन् ।

पत्रकार स्वयम् पनि श्रमजीवि वर्ग भएकाले जिफन्टसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको उनीहरूको भनाइ थियो ।