
काठमाडौं, २१ पुस । सरकारलाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सरकारमा सहभागी नगराउने प्रयास सुरू भएको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले यसअघि व्यक्त गरेका कतिपय धारणाहरूलाई टेकेर अहिले राप्रपालाई सरकारबाट जानबाट रोक्न खोजिएको हो ।
यसअघि अध्यक्ष लिङ्देनले ‘राप्रपा कुनै दलको पुच्छर बन्दैन, एक–दुई थान मन्त्री खान जात फाल्दैन’ भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर अहिले पार्टीभित्र र बाहिर समेत राप्रपा र नेतृत्वको विरोध हुनाका साथै सरकारमा जानबाट रोक्ने प्रयास भइरहेको हो ।
पूर्वउद्घोषलाई गुरूमन्त्र मानेर दुई वटा मात्र मन्त्री पदका लागि सरकारमा जान नहुने धारणा राप्रपाभित्र उठिरहेको छ । अध्यक्ष लिङ्देनले शुरूको पदाधिकारी बैठकमा राप्रपालाई चार सीट दिलाउने जानकारी गराएका थिए, मुख्यमन्त्रीको दाबी छोडेर एउटा मन्त्री थप्ने उनको तर्क थियो ।
त्यसपछि कार्यसम्पादनको बैठकसम्म पुग्दा उनले तीन जना मन्त्री पाउने बताए । सत्ता साझेदारका शीर्ष नेताहरूको बुधबार बसेको बैठकपछि लिङ्देनले दुईवटा मात्र मन्त्रालय पाउने भन्न थालेको पार्टीका एक नेताले जानकारी दिए ।
उनका अनुसार दुईवटा मात्रै मन्त्री पाउने भए राप्रपा सरकारमा सहभागी नै हुन नहुने मत पार्टीभित्र बलियो बन्दै गएको छ । लिङ्देनको पूर्व अभिव्यक्तिलाई उल्लेख गर्दै ती नेताले भने, ‘दुई वटा मन्त्री पदका लागि राप्रपाले ‘गुन्द्रुकको झोलमा जात फाल्न हुँदैन । यो मैले मात्र नभइ धेरै नेता तथा कार्यकर्ता साथीहरूको लेभलबाट कुरा उठिरहेको छ ।’
यसबारेमा पार्टी अध्यक्ष लिङ्देन, संसदका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरा र निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीलाई भेटेर नेता तथा कार्यकर्ताहरूले सुझाव समेत दिइसकेको ति नेताको भनाइ छ ।
स्मरण रहोस्, अध्यक्ष लिङ्देनले नवनिर्वाचित सांसदहरूलाई स्वागत गर्दै एक–दुई थान मन्त्री खान राप्रपा हाम नफाल्ने बताएका थिए ।















प्रतिक्रिया