
लमजुङ, १९ पुस । नेकपा एमालेका उपमहासचिव एवम् प्रतिनिधि सभा सदस्य पृथ्वीसुब्बा गुरुङले खेलकुद मनोरञ्जन गर्ने माध्यम मात्र नभइ स्वस्थ र अनुशासित बनाउने साधन पनि भएको बताएका छन् ।
गृहजिल्ला लमजुङमा त्रिवेणी कपको समापन तथा पुरस्कार वितरण समारोहमा मन्तव्य व्यक्त गर्दै उनले खेलकुद एउटा मनोरञ्जन गर्ने माध्यम मात्र नभई स्वस्थ नागरिक उत्पादन, अनुसाशित बनाउने र आफ्नो पालिका, जिल्ला, प्रदेश र मुलुकको गौरव गाथासँग जोडिएको साधन भएको बताएका हुन् ।
जहाँ खेलकुद पूर्वाधारको निर्माण धेरै भएका छन् ती ठाउँहरूमा खेलकुदको विकास र मुलुकहरूको पहिचान अधिक भएको देखिएको बताउँदै गुरुङले पछिल्ला सरकारहरूले नेपालको खेल क्षेत्रमा पनि लगानी वृद्धि गरिरहेको दाबी गरे ।
नेपालको खेल क्षेत्रलाई एमालेले उच्च प्राथमिकता दिदै आएको पनि उनले बताएका छन् । खेल र खेलाडीको श्रीवृद्धिका लागि एमालेले खेल क्षेत्रलाई सधैं प्राथमिकतामा राखेको उनको भनाइ छ । गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्री समेत रहेका सांसद गुरुङले युवा र खेलकुदलाई एमालेले विषेश रूपमा हेर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । खेलकुदको विकासका लागि सरकारले आवश्यक बजेटको व्यवस्थान गर्नुपर्नेमा पनि उनले बारम्बार जोड दिए ।
स्थानीय सरकारलाई खेलकुद क्षेत्रको विकासका लागि आवश्यक बजेट छुट्याउन समेत उनले निर्देशन दिदै उनले खेल मैदानको असुविधा रहेकाले आगामी दुई–तीन वर्षभित्रमा सुविधासम्पन्न रंगशाला बनाउन भूमिका निर्वाह गर्ने बताए ।















प्रतिक्रिया