३१ आश्विन २०८३, शनिबार

दिनभरका TOP 15 NEWS

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनुमतिबिना विदेशी कूटनीतिज्ञहरुलाई नभेट्न सरकारका सचिवहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार ३१ बुँदे निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले परराष्ट्र मन्त्रालयलाई आचारसंहिता बनाउन आग्रह गरेका छन् । प्रचण्डले सचिवहरुलाई जनतालाई आभास हुने गरी काम गर्न निर्देशन पनि दिएका छन् ।

यस्तै, मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा सरकारको नीति तथा कार्यक्रम साथै पुस २६ गते प्रधानमन्त्रीले विश्वासको मत लिने लगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले संसद बैठकको दोस्रो दिनमै विश्वासको मत लिन लागेका हुन् ।

हेरौँ मंगलबार दिनभरका समाचारका मुख्य मुख्य हेडलाइनहरु–

१. प्रधानमन्त्रीको निर्देशन : परराष्ट्र मन्त्रालयको अनुमतिबिना विदेशी कूटनीतिज्ञलाई नभेट्न सरकारका सचिवहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन, आचारसंहिता निर्माण गर्न परराष्ट्र मन्त्रालयलाई आग्रह ।

२. राष्ट्रपतिसँग विदाई भेट : राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालका लागि श्रीलंकाकी राजदूत हिमाली अरुणातिलाकाबीच शिष्टाचार भेटवार्ता, नेपाल र श्रीलंकाबीच रहीआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल ।

३. दाहाल–ओली भेट : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता, सरकारको नीति तथा कार्यक्रम निर्माण, सरकारको प्रभावकारिता र विश्वासको मत लिनेलगायत विषयमा छलफल ।

४. दुई वटासम्म मोबाइल ल्याउन दिनू : विदेशबाट आउनेलाई दुईवटासम्म मोबाइल ल्याउन दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुन: निर्देशन, मोबाइल ल्याउनलाई सहज र सरल बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए फुकाउन अर्थमन्त्री विष्णु पौडेललाई आग्रह ।

५. सेवाग्राहीलाई दु:ख दिनेलाई अब छाडिन्न : सेवाग्राहीबाट गुनासो आए कारबाही गर्ने यातायात कार्यालयका कर्मचारीहरूलाई उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको चेतावनी, छिटोछरितो ढङ्गले काम गर्न र अनियमितता, बिचौलियाको प्रभाव र सेटिङको अन्त्य गर्न निर्देशन ।

६. राहदानी वितरण स्थगित : राहदानी विभागद्वारा राहदानी वितरण कार्य अनिश्चितकालका लागि स्थगित, सिस्टममा समस्या आएका कारण वितरण कार्य स्थगित गर्नुपरेको विभागको स्पष्टीकरण ।

७. राष्ट्रिय सहमतिमा जोड : परिवर्तन, व्यवस्था र संविधान जोगाउन राष्ट्रिय सहमति आवश्यक भएको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाइ, संविधान निर्माणपछि केही समूहहरू अस्थिरता सृजना गर्न लागिपरेका दाबी ।

८. लेखक मुख्य सचेतक : नेपाली काँग्रेसको मुख्य सचेतकमा रमेश लेखक नियुक्त, संसदीय दलको विधानबमोजिम मुख्य सचेतक नियुक्त गरिएको कांग्रेसको भनाइ ।

९. गन्तव्यहीन बन्दै नेकपा एस : सरकारमा सहभागी हुने वा नहुने विषयमा नेकपा एकीकृत समाजवादी अझै अनिर्णित, पार्टी एकता र सरकारमा सहभागी हुन तीव्र दबाबपछि निर्णय लिने जिम्मा केन्द्रीय सचिवालयलाई दिइयो ।

१०. जरिवानाविरुद्ध सर्वोच्च पुगे बालेन : निर्वाचन आयोगले आफूलाई जरिवाना गरेको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह सर्वोच्च अदालत पुगे, ७ लाख ५० हजार रूपैयाँ जरिवाना गराउने आयोगको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग ।

११. एक जनाको मृत्यु, ४१ जना घाइते : दोलखाको बैतेश्वर गाउँपालिका–१ मा बा ३ ख ८८०७ नम्बरको टिपरले ठक्कर दिँदा स्थानीय ३५ वर्षीय बिक्रम तामाङको मृत्यु, कास्कीको पोखरा महानगरपालिका–१८ मा जीएए ०००४ नम्बरको स्कुल बस दुर्घटना हुँदा ४१ जना विद्यार्थी घाइते ।

१२. बिरामीले अस्पतालबाट किन हाम फाले ? : काठमाडौंको कीर्तिपुर अस्पतालको तीन तला माथिबाट बिरामीले हाम फाले, हाम फाल्ने बझाङ दुर्गाथली गाउँपालिका–५ घर भएका २२ वर्षीय सुनिल रोकाया घाइते ।

१३. सुनको मूल्य निरन्तर उकालो : नेपाली बजारमा मंगलबार सुनको मुल्य १० महिना यताकै उच्च, छापावाल सुन प्रतितोला एक लाख २ हजार ६००, तेजाबी सुन प्रतितोला एक लाख दुई हजार १०० रूपैयाँ र चाँदी एक हजार ४१० रूपैयाँमा कारोबार ।

१४. कारागारमा आक्रमण : मेक्सिकोको उत्तरी सिउदाद जाउर्ज सहरमा रहेको कारागारमा अज्ञात बन्दुकधारी समूहले आक्रमण गर्दा दश जना सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु, १३ जना घाइते, २४ जना बन्दी फरार ।

१५. आहा रारा गोल्डकप : अमेरिकाको भुटनीज युथ सकर क्लब २२औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश, पोखरा रंगशालामा मंगलबार भएको खेलमा मनाङ मस्र्याङ्दी क्लब १–० गोल अन्तरले पराजित ।