३१ आश्विन २०८३, शनिबार

रामपुरले जित्यो ३०औँ त्रिवेणी कप, सांसद गुरुङद्वारा पुरस्कार वितरण

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, १९ पुस । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा जारी ३०औँ त्रिवेणी कपको उपाधि रोड्स रामपुर चितवनले जितेको छ ।

आयोजक त्रिवेणी युवा क्लबको आयोजनामा बेँसीसहर नगरपालिका–७ सहजीस्थित त्रिवेणी रंगशालामा आज मंगलबार भएको फाइनल खेलमा ट्राइबेकरमा ४ का विरुद्ध ५ गोल गरी बागमती युवा क्लब सर्लाहीलाई पछि पार्दै रामपुरले उक्त कप जित्न सफल भएको हो ।

खेलको निर्धारित समयमा एक–एक गोलको बराबरी भएको थियो । सो पश्चात् पुन: १०/१० मिनेट खेले पनि सो समयमा कुनै गोल कुन नसकेपछि ट्राइबेकरमा परिणत भएको थियो ।

रामपुरले खेलको पहिलो हाफकोे ११औँ मिनेटमा जर्सी नं. ११ का खेलाडी सन्दीप रानामगरले पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । तर, सर्लाहीका जर्सी नंं २२ का विदेशी खेलाडी याहिक अब्दुल्लाले पहिलो हाफकै १५औँ मिनेटमा रामपुरका किम्परले सामान्य प्रहार रोक्न नसक्दा गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए ।

त्यसपश्चा्त दुबै टीमका खेलाडीले गोल गर्ने पटक–पटक सुनौलौ अवसर पाए पनि गोल हुन नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो ।

विजयी टीमले नगद ५ लाख रूपैयाँ, त्रिवेणीकप, स्वर्णपदक र प्रमाणपत्र, दोस्रो भएको टीमले नगद ३ लाख रूपैयाँ, रजतपदक र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलमा रोड्स रामपुरका भविन्द्र मल्ल म्यान अफ दी म्याच घोषित भए ।

त्यस्तै, खेल अवधिभर दुई/दुई गोल गरी बाग्मती फुटबल क्लब सर्लाहीका देवा गुरुङ, रोड्स रामपुरका सुरेश कुमाल र समाजकल्याण काठमाडौँका अब्दुल्ला सर्वाधिक गोलकर्ता बने । उनीहरूले जनही पाँच/पाँच हजार रूपैयाँ र प्रमाणपत्र पाएका छन् ।

त्यस्तै, रोड्स रामपुरकै सुरेश कुमालले सर्वोत्कृष्ट र बाग्मती फुटबल क्लव सर्लाहीका रविन बस्नेत उत्कृष्ट गोलकिपर घोषित भए । सर्वोत्कृष्ट गोलकिपर र उत्कृष्ट खेलाडीले १५/१५ हजार रूपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै, सेमिफाइनलमा पुग्ने दुई टीम सामाना युवा क्लव तुरतुरे तनहुँ र समाज कल्याण काठमाडौंले नगद ५०/५० हजार रूपैयाँ र प्रमाणपत्र प्राप्त गरेको आयोजक क्बलका अध्यक्ष विनोद गुरुङले बताए ।

विजयी टीम तथा खेलाडीहरूलाई गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य पृथ्वीसुब्बा गुरुङले पुरस्कार वितरण गरे ।

पुरस्कार वितरणपछि उनले खेलकुद एउटा मनोरञ्जन गर्ने माध्यम मात्र नभई स्वस्थ नागरिक उत्पादन, अनुसाशित बनाउने र आफ्नो पालिका, जिल्ला, प्रदेश र मुलुकको गौरव गाथासँग जोडिएको साधन भएको बताए । खेलकुदको विकासका लागि सरकारको नीति स्पष्ट हुनुपर्नेमा उनले जोड दिएका छन् ।

जहाँ खेलकुद पूर्वाधारको निर्माण धेरै भएका छन् ती ठाउँहरूमा खेलकुदको विकास भएको देखिएको बताउँदै गुरुङले पछिल्ला सरकारहरूले नेपालको खेल क्षेत्रमा पनि लगानी वृद्धि गरिरहेको बताएका छन् । खेलकुदको विकासका लागि सरकारले आवश्यक बजेटको व्यवस्थान गर्नुपर्नेमा उनले बारम्बार जोड दिए ।

स्थानीय सरकारलाई खेलकुद क्षेत्रको विकासका लागि आवश्यक बजेट छुट्याउन समेत उनले निर्देशन दिएका छन् । खेलको असुविधा रहेकाले खेलमैदानलाई आगामी दुई–तीन वर्षभित्रमा सुविधासम्पन्न रंगशाला बनाउन भूमिका निर्वाह गर्ने बताए ।

यही पुस १२ गतेदेखि जारी त्रिवेणी कपमा विभिन्न जिल्लाबाट १४ टीमको सहभागिता रहेको आयोजकले जानकारी दियो । प्रतियोगितालाई आगामी वर्षहरूमा समेत निरन्तरता दिने आयोजकको योजना छ ।

समापन कार्यक्रममा बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी, क्व्होलासोथर गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, उपाध्यक्ष गमीमाया गुरुङ, विभिन्न राजनितिक दल लगायतको उपस्थिति थियो ।