३१ आश्विन २०८३, शनिबार

नेपाल टी–२० लिग: काठमाडौं नाइट्ससँग विराटनगर सुपर किंग्स पराजित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा काठमाडौं नाइट्सले विराटनगर सुपर किंग्सलाई पराजित गरेको छ ।

टीयू क्रिकेट मैदानमा मंगलबार भएको खेलमा काठमाडौंले विराटनगरलाई ३४ रनले पराजित गरेको हो । खेलाडी र आयोजकबीचको विवादका कारण ढिला सुरु भएको खेल ९ ओभरमा झारिएको थियो । जसमा काठमाडौंले दिएको ९३ रनको लक्ष्य पछ्याएको विराटनगरले ८.५ ओभरमा अलआउट हुँदै ५८ रन मात्र बनाउन सक्यो ।

विराटनगरका लागि गौरान्शूं शर्मा २२ तथा विवेक यादव १२ रनमा आउट भए । काठमाडौंका लागि कमल सिंह ऐरीले ३ तथा सुनाम गौतम र अनिल खरेलले समान २/२ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले ९ ओभरमा ५ विकेट गुमाएर ९२ रन बनाएको थियो ।

काठमाडौंका लागि सन्दिप रजालीले अविजित ३२ रन बनाउँदा कमलसिंह ऐरी १४ रनमा अविजित रहे । कप्तान ज्ञानेन्द्र मल्ल १४ रनमा आउट हुँदा एलेक्स ब्लेकले १३ रन बनाए । विराटनगरका लागि नन्दन यादवले ३ तथा हुसेन तलत र कियोन जोसेफले समान १/१ विकेट लिए ।

त्यसअघि पारिश्रमिक नपाएको भन्दै दुवै टोलीले टस गर्न मानेका थिएनन् । विवादपछि क्यानका पदाधिकारी, नेपाल टि(२० गर्भनिङ काउन्सिलका पदाधिकारी लगायतको छलफलपछि खेल सुरु गर्ने सहमति भएको थियो ।

खेल सुरु हुनुअघि ४० प्रतिशत पाउनुपर्ने र प्रतियोगिता चलिरहँदा ६० प्रतिशत पाउने सहमति भएपनि हालसम्म खेलाडीले पैसा नपाएको बताएका थिए । क्यानको रोहवरमा खेलाडीहरुलाई पारिश्रमिक उपलव्ध गराउने सहमति भएको बताइएको छ ।