
हेटौंडा, १९ पुस । गत मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनबाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन् रामेछापको गोकुलगंगा गाउँपालिका–४ की २८ वर्षीया लक्ष्मी घिमिरे ।
लक्ष्मी राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद समानुपातिकबाट निर्वाचित सांसद हुन् । सांसद घिमिरे अन्य सांसदभन्दा फरक छिन् । सानैमा लडेर अपांग बनेकी सांसद घिमिरे ह्वीलचेयरको साहारामा हिँड्नुपर्छ । उनी आफ्नो स्कुटरको पछाडि ह्वीलचेयर बोकर हिँड्छिन् ।

सोमबार हेटौंडा स्थित बागमती प्रदेशसभाको पहिलो बैठकमा सहभागी भएकी ह्विलचियर सांसद लक्ष्मीले आफू नेपालकै पहिलो अपांगता सांसद भएको र आफुले देशभरका अपांगता व्यक्तिहरुको प्रतिनिधित्व गर्ने बताइन् ।
प्रदेशसभाको पहिलो बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा सांसद लक्ष्मीले अपांगता भएका व्यक्तिहरुको शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक यातायात लगाएत क्षेत्रको पहुँचमा पुर्याउने उल्लेख गरिन् । अपांगता भएका व्यक्तिहरुलाई राजनीतिक दलहरु र राज्यले समेत वास्ता नगरेको बताउँदै उनले कानून तथा नीति बनाउँदा अपांगता भएका व्यक्तिहरुको अधिकारलाई समेट्ने बताइन् ।

हालै सम्पन्न आम निर्वाचनमा पनि कुनैपनि राजनीतिक दलहरुले अपांगता भएका व्यक्तिहरुको राजनीतिक अधिकार सुनश्चित नगरेकोमा दु:ख व्यक्त गर्दै उनले दलहरुले अपांगता भएका व्यक्तिरुको राजनीतिक अधिकार सुश्चित गर्नुपर्ने र त्यसका लागि आफुले संसदमा आवाज उठाउने बताइन् ।
राप्रपा प्रदेश सरकार निर्माणमा सहभागी भए आफु पार्टीको तर्फबाट मन्त्री बन्न सक्ने लक्ष्मीको विश्वास रहेको छ । बागमतीको १ सय १० प्रदेश सांसद मध्ये लक्ष्मी एक्ली अपांगता सांसद हुन् ।
















प्रतिक्रिया