
काठमाडौं, १८ पुस । सेवाग्राहीको काम छिटो र सहजै गरिदिने भन्दै अनुचित प्रभावमा पार्ने सरकारी कार्यालयहरूमा बग्रेल्ती भेटिने बिचौलियाहरूमाथि प्रहरीले निगरानी बढाएको छ ।
कुनै पनि सरकारी कार्यालयमा नियमसङ्गत रूपमा हुने काम कारवाहीमा सेवाग्राहीलाई अनावश्यक हैरानी दिई नियमित काम कारवाहीलाई प्रभावित पार्ने बिचौलिया प्रवृत्तिका व्यक्ति तथा समूहउपर प्रहरीले निगरानी तथा कारवाही बढाएको हो ।
प्रहरीले आफ्नो सक्रियता बढाएसँगै सोमबार मात्रै १५ जना बिचौलिया पक्राउ परेका छन् । यातायात कार्यालयहरुमा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने १३ जना विचौलिया र दुई जना नक्कली परीक्षार्थीलाई सोमबार पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।
उनीहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
यातायात व्यवस्था कार्यालयहरू एकान्तकुना, ठूलोभर्याङ र चाबहिलबाट १३ जना र भक्तपुरस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र) राधे–राधेमा अर्कैको नाममा मेडिकल परीक्षा दिन आएका तथा परीक्षा दिन पठाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता रिजालले जानकारी दिएका छन् ।
निजहरूले विभिन्न यातायात कार्यालयहरुमा सेवाग्राहीहरुलाई सहजीकरण गरिदिन्छौँ, छिटो छरितो रुपमा काम गरिदिन्छौँ, नपुगेका कागजातहरू पुर्याइदिन्छौँ भनि प्रलोभनमा पारी हैरानी दिने गरेको प्रहरीको भनाइ छ ।















प्रतिक्रिया