
काठमाडौं, १८ पुस । नेकपा एकीकृत समाजवादीले तत्काल सरकारमा जाने कुनै तयारी नभएको स्पष्ट पारेको छ ।
सोमबारबाट सुरु भएका पोलिट्व्युरो बैठकले सरकारमा सहभागी हुन कुनै औपचारिक प्रस्ताव नआएको र सरकारमा जाने कुनै तयारी नरहेको स्पष्ट पारेको हो ।
बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले अहिले सरकारमा जाने वा नजाने भन्दा पनि सरकारलाई हेर्ने दृष्टिकोणका बिषयमा छलफल भएको बताए । सरकारमा सहभागी हुनका लागि कतैबाट पनि औपचारिक प्रस्ताव नआएको अवस्थामा सरकारमा सहभागीको प्रश्न नै नउठ्ने उनको भनाइ छ ।
बैठकमा समसामयिक राजनीति, नयाँ सरकार, संगठन निर्माणबारे २० जना सदस्यहरुले धारणा राखेको र मंगलबार पनि बैठक बस्ने प्रवक्ता खतिवडाले जानकारी दिए । खतिवडाले लामो समय सहकार्य भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार गठन भएको अवस्थामा नीतिगत निर्णय गर्नका लागि बैठक राखेको जिकिर गरे ।
उनले विकसित राजनीतिक अवस्थामा पार्टीले परिपक्व ढंगले निर्णय गर्ने बताए । त्यसअघि पोलिटब्यूरो बैठकको सुरुमै अध्यक्ष माधवकुमार नेपालले देशको हितलाई केन्द्रविन्दुमा राखेर अघि बढ्न चाहेको बताएका थिए ।















प्रतिक्रिया