
काठमाडौं, १८ पुस । उपप्रधानमन्त्री तथां गृहमन्त्री रवि लामिछानेले विपत जोखिम न्युनिकरणको सुरुवात मन्त्रालयबाटै गर्न निर्देशन दिएका छन् ।
सोमबार सिंहदरबारमा २५औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै लामिछानेले भूकम्प आइहाले मन्त्रालयबाट तुरुन्तै निस्कन सक्ने गरी आपतकालीन ढोकाको व्यवस्था गर्न निर्देशन दिएका हुन् । उनले विपत जोखिम न्युनिकरणको बहस धेरै हुने भएपनि कार्यान्वयनको तहमा सन्तोषजनक अवस्था नरहेकाले त्यसको सुरुवात मन्त्रालयबाटै गर्न खोजिएको जिकिर गरे ।
लामिछानेले स्कुल, कलेज, पार्टी प्यालेश जस्ता हलमा क्षमता संख्या देख्ने गरी लेख्नुपर्ने र आपतकालीन ढोका लगायत सुरक्षा कवचलाई ध्यान दिने गरी काम गर्नुपर्ने समेत बताए । क्षमताभन्दा धेरै मानिस जम्मा गर्ने र मापदण्ड पालना भए नभएको निरन्तर अनुगमन गर्नुपर्नेमा मन्त्री लामिछानेले जोड दिएका छन् ।
लामिछानेले २०७२ को भूकम्पपछि पनि पूर्वतयारी अर्थपूर्ण हुन नसकेको धारणा राखे । जोखिम न्युनिकरणका लागि ऐन कानून अप्रयाप्त भए त्यसलाई सच्चाउन आफू तयार रहेको र कार्यक्रम भन्दा पनि कामलाई बढि प्राथमिकता दिएर अघि बढ्नुपर्ने उनको भनाई छ ।
बैठकले माघ २ गते भूकम्प सुरक्षा दिवस विभिन्न सचेतनामूलक कार्यक्रमहरू गरी मनाउने निर्णय गरेको छ त्यसका लागि संघ, प्रदेश, जिल्ला प्रशासन कार्यालयहरू र स्थानीय तहहरूलाई दिवस मनाउनका लागि पत्राचार गर्ने र क्रियाकलापहरू राष्ट्रिय कार्यक्रममा समावेश गर्न पुस २६ गतेभित्र आह्वान गर्ने निर्णय पनि गरेको छ ।
बिक्रम सम्वत २०५५ साल मंसिर ७ गते बसेको मन्त्रीपरिषद् बैठकले प्रत्येक बर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउने निर्णय गरेको थियो ।















प्रतिक्रिया