३१ आश्विन २०८३, शनिबार

दिनभरका TOP 15 NEWS

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको हो ।

नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७५ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्याँसमा प्रति सिलिन्डर ७८ रुपैयाँ २२ पैसाले मूल्य वृद्वि भएको छ ।

मट्टितेलको मूल्य भने केही घटेर आएको छ । इन्धनको मूल्य बढेर आएपनि नेपालमा भने नबढ्ने निगमले जनाएको छ ।

यस्तै, पोखरामा नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटन भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भव्य समारोहकाबीच उद्घाटन गरेका हुन् । उद्घाटनसँगै पोखरेलीहरुको ४७ वर्षदेखिको सपना पूरा भएको हो ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले पुस २२ गतेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । पुस २५ गते बस्ने संसदको पहिलो बैठकका एजेण्डा तय गर्न बैठक आह्वान गरिएको हो ।

हेरौँ आइतबार दिनभरका समाचारका मुख्य -मुख्य हेडलाइनहरु–

१. विमानस्थल उद्घाटन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण छिट्टै सुरू गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा ।

२. सरकारले राम्रो काम मात्रै गर्छ : वर्तमान सरकारको नीति राम्रो काम गर्ने मात्रै भएको प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’को भनाई, मध्यपहाडी लोकमार्गदेखि उत्तर–दक्षिण कोरिडोर आफू पहिलो पटक प्रधानमन्त्री हुँदा प्रस्ताव गरिएका परियोजना भएको दाबी ।

३. फाउल गर्नेलाई रेड कार्ड : खेलकुदमा जस्तै राजनीतिमा पनि फाउल गर्नेलाई रेड कार्ड नै दिएर आउट गर्नुपर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ, अनुशासन र नियममा चल्न नसके केही पनि रहन नसक्ने धारणा ।

४. सर्वदलीय बैठक आह्वान : प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले २२ गतेका लागि बोलाए सर्वदलीय बैठक, पुस २५ गते बस्ने पहिलो संसद बैठकका एजेण्डा तय गर्ने तयारी ।

५. सरकारले सघाउँछ : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा संघीय सरकारले सघाउने उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको प्रतिबद्धता, अर्थतन्त्रमा केही समस्या भए पनि काबु भन्दा बाहिर नरहेको दाबी ।

६. हत्तार नगरौँ : सरकारमा जान हत्तार गर्न नहुनेमा नेकपा एकीकृत समाजवादी पार्टीका स्थायी कमिटी सदस्यहरुको जोड, औपचारिक पत्र नआएसम्म सरकारलाई समर्थन गर्न नसकिने भनाई ।

७. सरकार गठनका लागि आह्वान : प्रदेश नम्बर १ का प्रमुख पर्शुराम खापुङद्वारा नयाँ सरकार गठनका लागि आह्वान, संविधानको धारा १६८ को उपधारा २ बमोजिम पुस २४ गते साँझ ५ बजेसम्म दाबी पेश गरिसक्नुपर्ने ।

८. गिरी दलको नेता : नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लीला गिरी सर्वसम्मत चयन, चेतनारायण आचार्य बने दलको उपनेता ।

९. संसदीय दलको नेतामा भट्ट र चुमान : नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्ट तथा गण्डकी प्रदेश सभा संसदीय दलको नेतामा हरिबहादुर चुमान चयन, सुदूरपश्चिममा उपनेता, प्रमुख सचेतक र सचेतक केही दिनपछि चयन गरिने ।

१०. प्रदेश सांसदको सपथ : लुम्बिनी प्रदेश सभा सदस्यहरुले लिए पद तथा गोपनीयताको सपथ, प्रदेश प्रमुख अमिक शेरचनले गराए सपथ ।

११. टोपी दिवस : आज १०औँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस, ‘मौलिकता, सम्पदा, धरोहरको संरक्षण, राष्ट्रिय पोशाक, झण्डा स्वाभिमानको पहिचान’ भन्ने मुल नारासहित मनाइयो ।

१२. नेप्से उकालो यात्रा : आइतबार नेपाली धितोपत्र बजार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, नेप्से परिसूचक १७ दशमलव २६ अङ्कले उकालो लागेर दुई हजार ४६ दशमलव २९ विन्दुमा उक्लियो ।

१३. कोरोना कहर कायमै : नेपालमा पछिल्लो २४ घण्टामा २ जनामा कोरोना संक्रमण पुष्टि, तीनजना संक्रमणमुक्त ।

१४. भागदौडमा मृत्यु : युगान्डामा नयाँ वर्षको कार्यक्रममा भागदौड मच्चिदा नौ जनाको मृत्यु, कयौँ घाइते ।

१५. काठमाडौंको तेस्रो जित : काठमाडौंमा जारी नेपाली टी–२० लिगमा काठमाडौं नाइट्सले निकाल्यो तेस्रो जित, जनकपुर रोयल्स ९० रनले पराजित ।