
काठमाडौं, १७ पुस । नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल गर्न पोलिटब्युरो बैठक बोलाएको छ ।
पार्टी कार्यालय तीनकुनेमा आइतबार सम्पन्न समाजवादीको स्थायी कमिटी बैठकले सोमबार पोलिट्व्युरो बैठक बोलाउने निर्णय गरेको हो ।
बैठकपछि समाजवादीका सम्मानित नेता झलनाथ खनालले वर्तमान परिस्थितिका विषयमा गहन रुपमा बैठकमा छलफल भएको जानकारी दिए ।
नयाँ गठबन्धन खिचडीजस्तो भएको र नीति तथा कार्यक्रमका बारेमा केही थाहा नभएको अवस्थामा सरकारमा जाने वा नजाने विषयका कुनै निर्णय नभएको र पर्ख र हेरको अवस्थामा रहेको उनले बताएका छन् ।
उनले पोलिटब्युरो बैठकमा पनि सरकारका बारेमा छलफल हुने र आवश्यक निर्णय गर्ने बताएका छन् । आफूहरू पहिलेदेखि नै बामपन्थी एकताको विषयमा रहे पनि टाउको जोडेर हुने कुरा नभएको र एजेण्डा मुख्य भएको नेता खनालको भनाइ छ ।
त्यस्तै समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले सोमबार पार्टीको पोलिटब्युरो बैठक बस्ने र पोलिटब्युरोले निष्कर्ष निकालेपछि समसामायिक राजनीतिक परिस्थितिमा धारणा सार्वजनिक गर्ने बताए । उनले पार्टी एकता बजार हल्लामात्रै भएको र दुवैतर्फबाट कुनै छलफल नभएको जिकिर गरेका छन् ।
बैठकमा पार्टी निर्माण, सुदृढीकरण विस्तार लगायत विषयमा गहन छलफल भएको प्रवक्ता खतिवडाले जानकारी दिए ।















प्रतिक्रिया