
हेटौंडा, १७ पुस । मकवानपुरको भीमफेदी-२ भैसे कालिप्रसाद गण आर्मी ब्यारेक नजिक पिकअप भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु छ भने ८ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बारा विश्रामपुर गाउँपालिका-३ का अन्दाजी २० वर्षका राहुल कुमार पण्डित रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीकाअनुसार दुर्घटनामा गम्भीर घाइते भएका पण्डितलाई उपचारको लागि हेटौंडा अस्पताल पुर्याइएकामा डाक्टरले मृत घोषणा गरेका थिए ।
आइतबार बिहान बाराबाट हेटौंडा हुँदै दामन तर्फ जाँदै गरेको ना ४ च ९४१ नम्बरको पिकअप भ्यान आर्मी ब्यारेक नजिकै आफै अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।
घाइते हुनेहरुमा बारा विश्रामपुर गाउँपालिका-३ का २७ वर्षीय अजय चौरसिया, भारत झारखण्डका ३६ वर्षीय विजय दास, पर्सा विरगञ्ज महानगरपालिका-१७ का १८ वर्षीय सुमित गुप्ता, बहुदरमाई नगरपालिका-५ का २६ वर्षीय दिनानाथ प्रसाद, बारा विश्रामपुर गाउँपालिका-३ मुसरहवाका १८ वर्षीय शिवजी साह, विश्रामपुर-३ मुसरहवाका १८ वर्षीय धिरज चौरसिया, विश्रामपुर-३ मुसरहवाका १७ वर्षीय पप्पु कुमार गुप्ता र पर्साको बहुदरमाई-५ का २८ वर्षीय उमेश कुशवाह रहेका छन् ।
उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरु अंग्रेजी नयाँ वर्ष मनाउनको लागि दामनतर्फ जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सामान्य घाइते भएका पिकअप चालक भने सम्पर्कमा नरहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाइएको छ ।















प्रतिक्रिया