३१ आश्विन २०८३, शनिबार

पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, १२ पुस । पोखरामा यही पुस १३ देखि १६ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादन र ब्याडमिन्टन खेलको विकासको लक्ष्यसहित प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र कास्की जिल्ला ब्याडमिन्टन संघको सञ्चालन तथा व्यवस्थापनमा पोखरा रंगशालामा प्रतियोगिता आयोजना गरिएको छ ।

प्रतियोगिताअन्तर्गत १२ इभेण्टमा प्रतिस्पर्धा हुने भएको संघका अध्यक्ष सुशीलकुमार श्रेष्ठले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार प्रतियोगितामा काठमाडौं, कञ्चनपुर, सुर्खेत, उदयपुर, धादिङ, ललितपुर, भोजपुर, सर्लाहीलगायतका २५ जिल्लाबाट तीन सय बढी खेलाडी सहभागी हुँदैछन् ।

प्रतियोगिताको खुला पुरुष एकल तथा डबलतर्फको विधामा विजेता खेलाडीको टोलीलाई जनही रु ५० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी सोही इभेण्टमा द्वितीय हुनेलाई रु ३० हजार र तृतीय हुनेलाई रु २० हजार नगदको साथमा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नेछन् ।

प्रतियोगिताअन्तर्गत महिला एकल तथा डबल, मिक्स डबल, ३५ वर्षमाथिको डबल पुरुष उमेर समूह, ४५ वर्षमाथि डबल पुरुष, ५५ वर्षमाथि डबल पुरुषतर्फको विधामा विजेता टोलीले जनही रु ३० हजार, उपविजेताले जनही रु २० हजार र तेस्रो हुनेलाई जनही रु १० हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने भएको अध्यक्ष श्रेष्ठले बताए ।

जुनियर खेलाडीको प्रोत्साहन गर्ने उद्देश्यले १२ वर्षमुनिका खेलाडी सहभागी (यु–१२) र १७ वर्षमुनिका खेलाडी सहभागी (यु–१७) पुरुष तथा महिलातर्फको विधामा प्रतिस्पर्धा हुने भएको छ । सो इभेण्टमा विजेता खेलाडीले जनही रु १५ हजार, दोस्रो हुनेले रु १० हजार र तेस्रो हुनेललाई रु पाँच हजार नगदको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने संघका सचिव फडिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।