
काठमाडौं, १० पुस । भनिन्छ– राजनीति सम्भावनाको खेल हो, यहाँ असम्भव भन्ने केही पनि हुँदैन ।
उल्लिखित भनाइको चरितार्थ आज नेपालको राजनीतिमा पनि भएको देखियो । केही दिन अघिदेखि नै आज भएको राजनीतिक घटनाक्रमको सम्भावनालाई अनुमान गरिदै आएको थियो, तर पत्यार लागिरहेको थिएन ।
साँच्चै राजनीति भनेको सम्भावना नै सम्भावनाको खेल रहेछ, यहाँ असम्भव भन्ने केही हुँदो रहेनछ । सायद यसैको परिणति होला तीव्र ‘झैझगडा’मा उत्रिएका दुई जना नेताबीचको अकस्मात मिलन, अकस्मात एक–अर्काबीच विश्वासको वातावरण निर्माण र अकस्मात सहयोग आदानप्रदानको मूर्त सहमति । यो छोटो श्रृङ्खलाको उपलब्धिस्वरूप नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहज ढङ्गबाट तेस्रोपटक सिंहदरबार इन्ट्री गरेका छन् ।
यसअघि ओली नेतृत्वको सरकार अपदस्त गर्न मुख्य भूमिका खेलेका उही प्रचण्डलाई शान र सम्मानका साथ एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरी राष्ट्रपतिबाट नियुक्तिको अवस्थासम्म पुर्याउनु राजनीतिको घेराबाहिरबाट हेर्दा आश्चर्य लाग्दो विषय छ । तत्कालीन नेकपाको समयमा ओलीलाई पार्टी अध्यक्ष समेत नरहनेगरी कारबाही गरेर ओलीविरुद्ध प्रचण्डले खेलेको खेललाई अहिले स्मरण गर्ने हो भने आज भएको राजनीतिक घटनाक्रम अधिकांशको परिकल्पनाभन्दा बाहिरको विषय थियो भन्दा अतिसयोक्ति नहोला ।
तर, राजनीति सम्भावना नै सम्भावनाको खेल भएकैले होला बोलचाल नै बन्द भएका नेताहरू मिलेर आज देशलाई निकास दिएका छन् । यो खेलमा खासगरी एमाले अध्यक्ष केपी शर्मा ओली नायक रहेको देखिन्छ । उनैको योजनाअनुसार राष्ट्रियता, लोकतन्त्र र देशको हितमा नरहेको भनिएको पाँचदलीय गठबन्धन क्षणभरमै ध्वस्त भयो । एमालेको नेतृत्वमा आज नयाँ गठबन्धन निर्माण भएसँगै परमादेशको सहारामा निर्माण भएको भनिएको पाँचदलीय गठबन्धन समाप्त भएको छ ।
यसबाट एमाले अध्यक्ष ओलीले एकसाथ दुई वटा गोल गरेको चर्चा हुन थालेको छ । पहिलो त नेपाली कांग्रेसको मुखमा आएको गाँस प्रचण्डलाई खुवाएर कांग्रेसले प्राप्त गर्नै लागेको मन्त्रीहरू बाहेक नै कम्तीमा ३५ वटा राजकीय पद खोसिएको छ ।
सात दलको गठबन्धन बनेपछि कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, सातै प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख र उपसभामुख गरी कम्तीमा ३५ वटा पद गुमाएको हो ।
मुखमा आइसकेको यति धेरै राजकीय पदहरू क्षणभरमा गुमाउनुपर्दा कांग्रेसभित्र एकप्रकारको सन्नाटा नै छाएको छ । कांग्रेसका नेताहरूले सभापति शेरबहादुर देउवाको कच्चा खेलका कारण गठबन्धन जोगाउन नसकेको चर्चा गर्न थालेका छन् भने कतिपयले त कांग्रेसबाट प्रचण्डलाई धोखा भएको पनि बताइरहेका छन् ।
ओलीले हानेको दोस्रो गोल हो, ‘माधव नेपाल गोल’ । नयाँ सत्ता गठबन्धन बनेसँगै यतिबेला माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी घर न घाटको बनेको अवस्थामा देख्न सकिन्छ ।
सत्ता गठबन्धन टुटेपछि नेकपा एस निक्कै अलमलमा परेको छ । उसले हतारमा एमाले–माओवादी नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय पनि गरिसकेको छ । आफ्नै निर्णयपछि यो दल झन् अलमलमा परेको छ ।
अकस्मात बदलिएको राजनीतिक घटनाक्रमले सबैभन्दा बढी चोट माधव नेपाललाई परेको छ । एमालेभन्दा एक सीटले भए पनि ठूलो पार्टी बनाउने महत्वाकांक्षी अभिलाषा बोकेर गठबन्धनको भरमा चुनाव लडेको यो पार्टीले प्रत्यक्षमा १० सीट जिते पनि समानुपातिक मत प्राप्त गर्न नसक्दा राष्ट्रिय पार्टी नै बन्न सकेन । तै पनि गठबन्धनको सरकार बनिहाल्छ, त्यसमा हाम्रो पनि शेयर छ भनेर ढुक्क भएर बसेको नेकपा एसलाई आजको घटनाक्रमले निक्कै ठूलो चोट दिएको अनुमान गर्न सकिन्छ ।















प्रतिक्रिया