२९ आश्विन २०८३, बिहिबार

टोखा नगरपालिकाका मेयरका उम्मेदवार राप्रपाका पाण्डेसहित १७५ जना एमाले प्रवेश, ईश्वर पोखरेलद्वारा स्वागत

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, १ मंसिर । चुनावको मुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय युवा मोर्चाका केन्द्रीय अध्यक्ष एवं टोखा नगरपालिकाका राप्रपाका मेयरका उम्मेदवार सुरज पाण्डे नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बिहीबार काठमाडौं क्षेत्र नम्बर ५ को अन्तिम चुनावी सभामा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले युवा मोर्चाका अध्यक्ष पाण्डेलाई एमालेमा प्रवेश गराएका हुन् । कार्यक्रममा पाण्डे र राप्रपाका बागमती प्रदेश कमिटीका सचिवालय सदस्य पुरुषोत्तम दंगालसहित १ सय ७५ जना कार्यकर्तालाई एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल, निर्वाचन परिचालन कमिटीकी संयोजक एवं पार्टी केन्द्रीय सदस्य शान्ति अधिकारी, केन्द्रीय सदस्य एवं काठमाडौं ५९१० का उम्मेदवार नारायण सिलवाल, एमाले काठमाडौंका अध्यक्ष एवं ५ (२) का प्रदेशसभा सदस्य उम्मेदवार दीपक निरौला लगायतले पार्टीमा स्वागत गरेका थिए।

चुनावी अभियान सुरु भएपछि काठमाडौं क्षेत्र नम्बर ५ मा विभिन्न पार्टीबाट एक हजार भन्दा बढी एमालेमा प्रवेश गरिसक्नुभएको निर्वाचन परिचालन कमिटीले जनाएको छ । एक साताको अवधिमा मात्रै माओवादीका शेखर श्रेष्ठको नेतृत्वमा १ सय ५१ जना, काँग्रेसका रोशन पुजारीको नेतृत्वमा ७५ जना, एकीकृत समाजवादीका यज्ञबहादुर सुनारको नेतृत्वमा ५५ जना पार्टी प्रवेश गरेका थिए । जसमध्ये गत स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिकामा राप्रपाबाट मेयरका उम्मेदवार बनेका सुरज पाण्डे र माओवादीबाट मेयरका उम्मेवार बनेका शेखर श्रेष्ठ नै एमाले प्रवेश गरेपछि टोखा नगरपालिकामा एमाले झनै बलियो बनेको छ ।

यसैबीच, चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले मंसिर ४ गतेको निर्वाचन देश बनाउने कि देश बिगार्नेबीचको जनमत संग्रह भएको बताएका छन् । देशलाई अन्धकारबाट उज्यालोतर्फ लैजान सूर्य चिन्हमा मतदान गरी एमालेलाई विजयी गराउन उलने आह्वान गरे । बाटोमा हिँड्दाहिँड्दै उम्मेदवार बनेका र मतदाता नामावलीमा नाम समेत नभएकाबाट यस क्षेत्रको विकास हुन नसक्ने बताउँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले आफूहरु ४०औं बर्षदेखि काठमाडौंका जनतासँग भिजेको र यहाँको विकासमा सहभागी हुँदै आएको बताए।

वरिष्ठ उपाध्यक्ष पोखरेलले चक्रपथ बाहिर पनि मेलम्चीको पानीको वितरण गर्ने, उत्तरी क्षेत्रमा स्वस्थ खानेपानी वितरणका लागि शिवपुरी क्षेत्रमा ठूला ठूला पोखरी निर्माण गर्ने, प्राविधिक विद्यालय स्थापना गर्ने, महिलाहरुले निर्माण गरेका सीपलाई प्रदर्शन गर्न सबै वडामा कोसेली घर स्थापना गर्ने, सुकुम्बासीलाई बासको व्यवस्था गर्ने, निर्वाचन क्षेत्रका युवा क्लव तथा महिलाहरुका समूहमा अक्षयकोष स्थापना गर्न सघाउने बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले आउने पाँच बर्षभित्र कलंकीदेखि धोबीखोलासम्म चक्रपथ विस्तार गर्ने बताए । चक्रपथ विस्तारका लागि छुटाइएको रकम गठन्धनले स्वाहा बनाएको बताउँदै उनले नेकपा एमाले रहेसम्म चक्रपथ विस्तार अलपत्र नहुने बताए ।

कार्यक्रममा विभिन्न क्षेत्रका सफल युवा तथा उद्यमीहरुले काठमाडौं क्षेत्र नम्बर ५ को विकासका लागि पोखरेल नै निर्विकल्प भएको बताएका थिए ।