१ कार्तिक २०८३, आइतबार

दोलखाका प्रतिनिधिसभा सदस्य उम्मेदवार कार्की अझै प्रहरीको वान्टेड सूचीमा

16.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, १ मंसिर । सत्तारुढ गठबन्धनबाट दोलखाको प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका माओवादी केन्द्रका नेता गंगा कार्की फरार अभियुक्तको सूचीमा रहेको तथ्य फेला परेको छ ।

सरकारी धनमाल लुटपाट गरेको अभियोगमा प्रहरीले कार्कीलाई फरार सूचीमा राख्दै पक्राउ पूर्जी जारी गरेको थियो । दोलखा सदरमुकाम चरिकोटस्थित सडक विभाग कार्यालयबाट ठूलो मात्रामा डिटोनेटर, फ्यूज र जिलेटिन लुटपाट गरेको अभियोगमा उनीविरुद्ध ०७६ मै पक्राउ पूर्जी जारी भएको प्रहरीको रेकर्डमा देखिएको छ ।

तीन वर्षअघि नै पक्राउ पूर्जी जारी भए पनि शक्ति केन्द्रको आडमा कार्की पक्राउ नपरेको बताइन्छ । प्रहरीको वान्टेड सूचीमा रहेका कार्की भने मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा चुनावी अभियानमा ब्यस्त छन् ।

सडक निर्माणका लागि प्रयोग गर्न राखिएको ४२ हजार ७०० डिटोनेटर, तीन क्विन्टल फ्यूज र ३ बाकस जिलेटिन चोरी काण्ड उम्मेदवार कार्कीको नेतृत्वमा भएको अभियोग छ । २०५२ साल माघ २ गते अर्थात् तत्कालीन माओवादीले सशस्त्र युद्ध सुरू गरेको करिब एक महिनाअघि उक्त घट्ना भएको थियो ।

प्रहरीका अनुसार उक्त घटनामा कार्कीसँगै पुर्णबहादुर खड्का, हेमबहादुर श्रेष्ठ, रितबहादुर खड्का र शंकर लामा संलग्न थिए । तीमध्ये खड्का र श्रेष्ठलाई ०५३ को जेठमै प्रहरीले पक्राउ गर्‍यो । दुवैले दश बर्ष कैद सजाय भुक्तान गरेका छन् । रितबहादुरले भूमिगतकालमै ज्यान गुमाए ।

अभियुक्त मध्येका कार्की र लामाबिरुद्धको मुद्दा ब्यूँताउँदै प्रहरीले ०७६ सालमा उनीहरूविरुद्ध पुन: पक्राउ पूर्जी जारी गरेको थियो । तर, शक्ति केन्द्रको संरक्षणका कारण प्रहरीले उनीहरूलाई पक्राउ गर्न सकेन । जुँगुस्थित निवासमै पुगेर प्रहरीले कार्कीको खोजतलास गरेको थियो ।

यद्यपि, वृहत् शान्ति सम्झौता भएसँगै द्वन्द्वकालीन मुद्दा खारेज भएको माओवादी केन्द्रका नेताहरूको दाबी छ । द्वन्द्वकालीन मुद्दा सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत टुंगो लगाउने भनिए पनि त्यसले गति लिन सकेको छैन । जबकी घटना हिंसात्मक द्वन्द्वअघिकै हो ।

प्रहरीसहित सरकारी निकायहरूको भनाई पनि उक्त घटना जनयुद्ध सुरू हुनुअघि नै भएका कारण शान्ति सम्झौताभित्र पर्दैन । स्रोत भन्छ, ‘शान्ति सम्झौताबाट खारेज भएका मुद्दा १ फागुन ०५२ यताका मात्रै हुन् । त्यसअघिका कुनै पनि मुद्दा खारेज भएका होइनन् । तर, त्यो घट्ना द्वन्द्व सुरू हुनुभन्दा २८ दिन अघिको हो ।’

०७४ को स्थानीय तह निर्वाचनमा गौरीशंकर गाउँपालिकाको जुँगमा भएको एमाले कार्यकर्ता कूलबहादुर तामाङको हत्याको घटनामा कार्की मुछिएका थिए । त्यसबेलाको स्थानीय तह निर्वाचनमा माओवादी–काँग्रेसबीच नै चुनावी गठबन्धन भएको थियो । चुनावी प्रचारप्रसारकै क्रममा एमाले कार्यकतामाथि गठबन्धन पक्षधरबाट आक्रमण भएको थियो । घटनामा अन्य थुप्रै स्थानीय युवाहरू घाइते भएका थिए ।

कार्की तत्कालीन माओवादीले बनाएको ‘जनमुक्ति सेना’का पूर्व ब्रिगेड कमाण्डरसमेत थिए । कार्कीको नेतृत्वमा भएको थुप्रै आक्रमणमा दोलखाका दर्जनौं होनहार युवाहरूले अनाहकमै ज्यान गुमाएका थिए ।

जनवाद स्थापना गर्ने हिंसात्मक बाटो परित्याग गरेर माओवादी शान्तिपूर्ण लोकतान्त्रिक प्रतिस्पर्धाको मूलधारको राजनीतिमा आएपछि कार्कीले धेरै समय गाउँमा भन्दा सदरमुकाम चरिकोट र राजधानी काठमाडौंमा बिताए । हिंसात्मक द्वन्द्वमा जीवनकै कुर्वानी गर्ने परिवारसँग कार्कीको सम्बन्ध टुट्यो । तर, टिकटको प्रतिस्पर्धामा रहेकी पोलिटब्यूरो सदस्य तथा पूर्व राज्यमन्त्री देवी खड्का र केन्द्रीय सदस्य तथा युवा नेता विशाल खड्कालाई पछि पारेर उम्मेदवारको मौका पाएपछि भने कार्की अहिले चुनावी अभियानका क्रममा विभिन्न गाउँ पनि पुगे । त्यसक्रममा उनीमाथि द्वन्द्वपीडित परिवारले अनेक प्रश्न तेस्र्याए । नाजवाफ बनेर कैयन स्थानबाट जसोतसो उम्किएका कार्कीले जनस्तरबाट अनेक खप्की खानु परिरहेको छ ।

उनले जिल्लाको बिगु गाउँपालिका–६ आलाम्पुमा खाएको खप्की– आलम्पुमा ८० वर्षीया सेतीमायाको प्रश्न–मेरो छोरा खोइ ?