मंगलबार, २० मंसिर २०७९
DainikNepal.com
मंगलबार, २० मंसिर २०७९

माओवादी उम्मेदवारसँग ८० वर्षीया सेतीमायाको प्रश्नः मेरो छोरा खोइ ?

दैनिक नेपाल २०७९ कार्तिक २२ गते ८:०४

दोलखा, २२ कात्तिक । नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार गंगा कार्की ‘विश्व’ चुनावी कोणसभा सम्बोधन गर्न गाउँ आउने थाहा पाएपछि दोलखा बिगु गापा–६ आलाम्पुकी ८० वर्षीया सेतीमाया थामी निर्धारित समयमै कार्यक्रमस्थल पुगिन् ।

खादा लगाएका कार्की स्टेजमै थिए । थामीले कार्कीलाई भेट्न हर कोशिस गरिन् । तर, सफल भइनन् । कार्यक्रमबीचमै स्टेजबाट उठेर कार्की चौरतर्फ निस्किइन् । पर्खेर बसेकी सेतीमायाले उनलाई बीचबाटोमै समातिन् र छाती पिटेर रुँदै प्रश्न गरिन्, ‘मेरो छोरा खोइ ?’ सेतीमाया थप भक्कानिन पुगिन् । कुर्सीमा थचक्क बस्दै फेरि प्रश्न गरिन्, ‘बाबु, मेरो छोरालाई किन सँगै नल्याएको ?’

सेतीमायाको आँसु यतिमै थामिएन । शोकाकुल उनी छट्पटाउन थालिन् । चुनावीसभा एकाएक भावविह्वल बन्यो । यसपछि कार्कीलाई आलाम्पुका स्थानीय थामीले एकाएक घेरा हाले । सबैको अनुहारमा उही प्रश्न दौडिएका देखिन्थे, ‘हाम्रा छोरा खोइ ?’ तर, कार्कीसँग जवाफ थिएन ।

वातावरण नियन्त्रणबाहिर जाने देखिएपछि बिचमै भाषण छाडेर दोलखा (ख)का उम्मेवार बर्मा लामा कार्कीनजिक पुगे । र, सेतीमायालाई सम्झाउनतिर लागे ।

माओवादी जनयुद्धताका नेता हुन्, कार्की । युद्धताका उनी आलाम्पु गइरहन्थे तर शान्ति प्रक्रियापछि कार्की गाउँ जान चटक्कै छाडे । १५ वर्षपछि उम्मेदवार बनेर उनी गत साता गाउँ पुगे ।

कार्यक्रममा सहभागी मानबहादुरकी आमा सेतीमाया र बुबा सन्तवीर सुरुमा त नाचे तर छोरा गुमाएको पीडाले सेतीमायालाई भित्रभित्रै गाल्न थाल्यो । चुनावी तामझामले उनलाई शान्ति दिएन । एकाएक भक्कानिएकी थामी कार्कीलाई प्रश्न गर्न थालिन् ।

यस्तो छ, घटना

चुनावी प्रचारप्रसार क्रममा गत साता आलाम्पुमा भएको घटना बुझ्न २१ वर्षअघि सल्लेरी आक्रमण केलाउनुपर्नेहुन्छ । सरकारसँगको वार्ता असफल भएलगतै १० मंसिर २०५८ मा सोलु सल्लेरीस्थित सेनाको ब्यारेकमा तत्कालीन माओवादी छापामारबाट आक्रमण भयो ।

मध्यरात भएको अप्रत्याशित आक्रमणका कमान्डर थिए, सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि दोलखाबाट अहिले चुनावी मैदानमा छन् । बिनातयारी आक्रमण भएको थियो । सोही घटनामा मारिएका थिए, सेतीमायाका २४ वर्षीय छोरा मानबहादुर थामी । उनी तत्कालीन माओवादी छापामारका सेक्सन कमान्डर थिए । आक्रमणमा उनीसँगै आलाम्पुकै बासु थामी र कुमार थामीले पनि ज्यान गुमाए । उनीहरूसँगै सहभागी खुबहादुर थामी बालबाल बाँचे । आलाम्पुकै गणेश थामी भने श्रीमतीका कारण आक्रमणमा सहभागी हुन सकेनन् । नत्र, उनको पनि ज्यान जान सक्थ्यो ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार कार्कीसँग छाती पिटेर प्रश्न गर्ने सेतीमाया र आक्रमणमा मारिएका मानबहादुरकी आमा विगक गाउँमा सहाराविहीन जीवन गुजार्न बाध्य छन् । सेतीमायाकी साइलो छोरा थिए, मानबहादुर ।

माओवादी आक्रमणमा मारिएपछि परिवारमा शोकसँगै ठुलो बज्रपात प-यो । त्रासले गाउँ स्तब्ध बन्यो । मानबहादुरबाहेक उनका अन्य तीन सन्तान थिए । उनीहरू पनि मारिने भयले हरेक रात पिरोल्न थाल्यो । डराएकी उनले जेठा छोरा रणबहादुर र माइलो बलबहादुरलाई रातारात भारत उत्तरपूर्व दार्जिलिङ पठाइन् । मुस्किलसाथ कान्छो चौतारीलाई घरमै जोगाइन् । दार्जिलिङ गएका दुई छोरा त्यसपछि फर्केका छैनन् । कान्छो चौतारी भने अहिले काठमाडौं बस्छन् ।

माओवादी द्वन्द्वका कारण परिवार उजाडेकी सेतीमाया अहिले सहाराविहीन छिन् । ८५ वर्षीय पति सन्तवीर अस्वस्थ छन् । बिहान–बेलुका छाक टार्न मुस्किल छ । अँगेना तातो गर्न दाउरा जाहो गर्ने घरमा कोही छैनन् । आङ ढाक्न कपडा छैन । तातो पानी तयाएर खाने शक्ति शरीरबाट दिनदिनै क्षीण हुँदै छन् । मृतक छोराको पीरले निन्द्रा लाग्दैन ।

सल्लेरी आक्रमणमा बालबाल बाँचेका गणेश थामी ‘आक्रमणमा छोरा परेको र आफूहरू बल्तल्ल’ बाँचेको सम्झन्छन् । उनका छोरा दार्जिलिङ र काठमाडौंतिर छन् । गाउँमा उनी एक्कै । मानबहादुरजस्तै थामी समुदायबाट मात्रै माओवादी सशस्त्र द्वन्द्वमा ३१ युवाले ज्यान गुमाए । उनीहरूका परिवारको अवस्था सेतीमायाको भन्दा फरक छैन ।

क्रान्तिका नाममा युद्धमा होमिएका पार्टीका ‘फुल टाइमर’ कार्यकर्तामध्ये कोही खाडीको तातो घाममा पसिना चुहाइरहेका छन् भने कोही मलेसियामा श्रम बेच्न बाध्य छन् । अंगभंग भएका कारण वैदेशिक रोजगारमा जान नसकेका गाउँमै ‘डिप्रेसन’को सिकार भएर बसेका छन् । उनीहरूसँग औषधि खरिद गर्नेसम्म हैसियत छैन । तर, नेता र तीनका आफन्तले भने राज्यबाट प्राप्त सुविधा भोग गरिरहेका छन् । जनयुद्धमा मुलुकभरबाट १७ हजारले ज्यान गुमाएका छन् । दोलखाबाट मात्रै १ सय १ को ज्यान गएको थियो । जसमध्ये ३१ जना थामी युवा थिए । आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया
सम्बन्धित