
कठमाडौं, ३० कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते आफ्नो र छोराछोरीको भविष्य सम्झिएर मतदान गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै अध्यक्ष ओलीले अबको ५ वर्ष मुलुकलाई कसको हातमा सुम्पने भन्ने निर्क्योल गर्नुपर्ने बेला आएको बताएका छन् ।
उनले भनेका छन्, ‘भोट हाल्नुअघि दुई भविष्यलाई सम्झनुहोला । पहिलो तपाईँको आफ्नै भविष्य र दोस्रो तपाईँका छोराछोरीको भविष्य ।’ उनले आफू झुटो नबोल्ने र सत्य नछोड्ने पनि बताएका छन् । ‘म झुटो बोल्दिँन, सत्य छोड्दिँन । तपाईँलाई थाहा छ म पटक पटक मृत्युको मुखमा पुगेर फर्किएको व्यक्ति हुँ ।’
अध्यक्ष ओलीले अहिले देश केही व्यक्ति र समूहको स्वार्थ जोडिएर बनेको गठबन्धनले चलाइरहेको बताउँदै गठबन्धनको कुनै राष्ट्रिय उदेश्य नभएको र गठबन्धन रहिरहे मुलुक बर्बाद हुने जिकिर गरे ।
राष्ट्रियहित, स्वाधिनता, स्वाभिमानको रक्षा र स्थिर सरकारका लागि मंसिर ४ गते एमालेलाई मतदान गर्न पनि ओलीले अपिल गरेका छन् ।
अध्यक्ष ओलीको अपिलको पूर्ण पाठ यस प्रकार छः
प्रिय मतदाता,
अब स्पष्ट निर्णय लिने समय आएको छ । किनकी मंसिर ४ गते तपाईले हाल्ने भोटले अबको ५ वर्ष कसको हातमा देश सुम्पने भन्ने कुराको निर्क्योल गर्नेछ ।
शेरबहादुर देउवाको हातमा कि म केपी शर्मा ओलीको हातमा ?
त्यसैले भोट हाल्नु अघि ‘दुई–भविष्य’लाई सम्झनु होला ।
पहिलो, तपाईको आफ्नै भविष्य र,
दोस्रो, तपाईको छोराछोरीको भविष्य !
प्रिय मतदाता,
म झुठो बोल्दिन, सत्य छोड्दिन ।
तपाईलाई थाहा छ, म पटक पटक मृत्युको मुखमा पुगेर फर्केको व्यक्ति हुँ ।
अहिले देश केही व्यक्ति र समूहको निजी स्वार्थ जोडिएर बनेको गठबन्धनले चलाइरहेको छ । जसको कुनै राष्ट्रिय उद्देश्य छैन । यही गठबन्धन रहिरहे मुलुक बर्बाद हुनेछ । तपाई र तपाईका छोराछोरीको भविष्य समेत बर्बाद हुनेछ ।
त्यसैले आज म यस सन्देश मार्फत तपाईसँग भोट माग्दै छु ।
तर मैले मागेको भोट एमालेको जितका लागि होइन ।
म–
तपाई र तपाईको सन्तानको सुखको लागि,
राष्ट्रिय हित, स्वाधीनता, स्वाभिमानको रक्षा
र, पाँच वर्ष टिक्ने स्थिर सरकारका लागि
भोट माग्दै छु ।
यो त्यतिखेर मात्र सम्भव हुनेछ, जब तपाईले सूर्य चिन्हमा मतदान गर्नुहुनेछ । त्यसैले,सूर्य चिन्हमा मतदान गर्नुहोस् ।
धन्यवाद !













प्रतिक्रिया