
काठमाडौं, २४ कात्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा) ले घरेलु टोली नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलको टिकट मूल्य तय गरेको छ ।
एन्फाले आज बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै मैत्रीपूर्ण खेलको टिकट मूल्य सामान्य प्यारापिटतर्फ ५०० र भीआइपीतर्फ १ हजारको टिकट दर निर्धारण गरिएको जनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेल कात्तिक ३० गते हुनेछ । मैत्रीपूर्ण खेलका लागि पाकिस्तानको टीम आइतबार नेपाल आइपुग्ने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न कुल ४८ लाख ६५ हजार लाग्ने अनुमान गरिएको उनले बताए ।
एन्फाले टिकट काटेर हेर्ने एक भाग्यशाली दर्शकले कतारमा आयोजना हुने फिफा विश्वकप अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट प्रदान गर्ने प्रवक्ता शाहले बताए ।
मैत्रीपूर्ण खेलका लागि नेपालले मुख्य प्रशिक्षक प्रवेश कटुवालको नेतृत्वमा तयारी गरिरहेको छ । हालसम्म नेपाल र पाकिस्तानबीच १३ वटा मैत्रीपूर्ण खेल भएको छ । फिफा बरियतामा नेपाल १७५ स्थानमा र पाकिस्तान १९४औं स्थानमा छ ।















प्रतिक्रिया