काठमाडौं, २३ कात्तिक । पाकिस्तानले आइसिसी टी-२० विश्वकप २०२२ को पहिलो सेमिफाइनल खेलमा न्यूजिल्याण्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ ।
अष्ट्रेलियाको सिड्नीमा भएको खेलमा पाकिस्तानले सन् २००९ मा उपाधि जितेपछि पहिलो पटक टी-२० विश्वकपको फाइनलमा स्थान बनाएको हो । अब पाकिस्तानले उपाधिका लागि भारत र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ ।
भारत र इंग्ल्यान्डबीचको दोस्रो सेमिफाइनल बिहीबार हुनेछ । न्यूजिल्याण्डले दिएको १ सय ५३ रनको लक्ष्य पाकिस्तानले १९ ओभर १ बलमा ३ विकेट गुमाएर १ सय ५३ रन बनाएर पूरा गर्यो । पाकिस्तानको जितमा मोहमद रिजवानले ५७ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै कप्तान बाबर आजमले ५३ रनको अर्धशतकीय इनिङ खेले । मोहमद हरिसले ३० रन जोड्दा शान मसुदले अविजित ३ रन बनाए । न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो।
न्युजिल्याण्डका लागि ड्रयाल मिचेलले अविजित रहदै सर्वाधिक ५३ रनको अर्धशतकीय इनिङ खेले । जेम्स निशमले अविजित १६ रन बनाए । कप्तान केन विलियम्सनले ४६ रन बनाए । डेभोन कोन्वेले २१ रन बनाउँदा ग्लेन फिलिप्सले ६ र फिन एलनले ४ रन जोडे ।
पाकिस्तानका शाहिन शाह अफ्रिदीले २ विकेट लिए । मोहमद नवाजको नाममा एक विकेट रह्यो । पाकिस्तानले तेस्रो पटक टी-ट्वान्टी विश्वकपको फाइनलमा स्थान बनाएको हो ।













प्रतिक्रिया