
लमजुङ, २२ कात्तिक । नेकपा (एमाले)का उपमहासचिव एवम् लमजुङ प्रतिनिधिसभा सदस्य उम्मेदवार पृथ्वीसुब्बा गुरुङले असल र सक्षम उम्मेदवारले जिते मात्रै लमजुङले विकासले फड्को माने बताएका छन् ।
आज मंगलबार बिहान दोर्दी गाउँपालिका–१ भारतेमा चुनावी कोणसभालाई सम्बोधन गर्दै गुरुङले असल र सक्षम उम्मेदवार भएमा मात्र लमजुङले विकासको फड्को मार्न सक्ने भएकाले सोच विचार गरेर मात्र मत दिन मतदातालाई आग्रह समेत गरेका छन् । लमजुङको विकास गर्न सक्ने दक्ष, क्षमतावान र भिजन भएका राजनीतिक दल र उम्मेदवारलाई जिताउनुपर्ने उनको भनाइ छ ।
गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्री समेत रहेका गुरुङले आफू लमजुङे जनताको र जिल्लाको लागि सधैं विकासको पक्षमा उभिदै आएको बताएका छन् । अन्य नेता भन्दा आफूले धेरै विकास गर्दै आएको र आफूले गरेको जति काम र सोच विचार अरु नेतासँग नभएकाले जिल्लाको विकास गर्न चाहने हो भने विचार पुर्याएर मतदान गर्न उनले आग्रह गरे ।
आफू मुख्यमन्त्री रहँदा अघि बढाएका ‘एक घर एक धारा’, स्वास्थ्य, शिक्षा, सडक, पुल, आमा समूह, युवा क्लबलगायतको सामाजिक भवन, खेलकुद, घरघरमै विजुली पुर्याउनेलगायत क्षेत्रमा उल्लेखनीय काम गरेको उनको भनाइ छ । अन्य पार्टीको सरकार हुँदा वर्षौं लगाएर गर्न नसकेको काम करिब ३४ महिनामा त्यो भन्दा बढी गरेको र त्यति बेला अघि बढाएको अभियान अझै पूरा गर्न बाँकी रहेको उनले बताए ।
आफू जितेर संघमा पुगेमा महत्वपूर्ण जिम्मेवारी हासिल गर्दै जिल्लाको मुहार फेर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
त्यस्तै, अब गर्ने राजनीति जनता र देशका लागि हुने खालको हुनुपर्नेमा उनले जोड दिए । मुलुक विकासतर्फ लैजाने कि विनासतर्फ लैजाने जिम्मा जनताको हातमा रहेकाले जनताले असल जिम्मेवारी वहन गर्नुपर्ने उनले बताए ।
लमजुङमा प्रतिनिधिसभामा गुरुङ तथा प्रदेश सभा (१) मा जमिन्द्रमान घले र प्रदेश सभा (२) मा कृष्णप्रसाद अधिकारी एमालेबाट उम्मेदवार छन् ।















प्रतिक्रिया