
लमजुङ, २१ कात्तिक । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले समृद्ध नेपाल बनाउन मुलुकमा नेकपा एमालेको सरकार आवश्यक पर्ने बताएका छन् ।
जिल्लाको लमजुङ दूधपोखरी गाउँपालिकामा काङ्ग्रेसका २२ जना युवालाई एमालेमा प्रवेश गराउँदै गुरुङले मुलुकलाई समृद्ध बनाउनका लागि एमाले नेतृत्वको सरकार हुनुपर्ने र त्यसका लागि मंसिर ४ को निर्वाचनमा एमालेको पक्षमा मतदान गर्नुपर्ने बताएका हुन् ।
गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका गुरुङले तत्कालीन केपी ओली नेतृत्वको सरकारले ठूला–ठूला आयोजनाको कामदेखि स्वास्थ्य, शिक्षा, सडक, खानेपानी र पुललगायत धेरै विकासको काम अघि बढाए पनि वर्तमान सरकारले त्यसरी विकासका लागि काम गर्न नसकेको बताए । कांग्रेस र माओवादीलगायत दलहरूले सत्ता र आ–आफ्नो स्वार्थका लागि मात्र गठबन्धन गरेर अघि बढेको उनको भनाइ छ ।
केपी ओलीले नेपालको भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने साहसी र ऐतिहासिक काम गरे पनि वर्तमान सरकारले त्यससम्बन्धी एक शब्द बोल्न नसेकोमा उनले आपत्ति जनाए । गठबन्धनले सङ्कटग्रस्त अवस्थामा पुर्याएको मुलुकको आर्थिक अवस्थाको सुधार गर्न तथा तीव्र वृद्धि भइरहेको महङ्गी नियन्त्रणका लागि पनि मंसिर ४ पछि मुलुकमा नेकपा एमाले नेतृत्वको सरकार अपरिहार्य रहेको गुरुङको भनाइ छ ।
उपमहासचिव गुरुङ लमजुङबाट प्रतिनिधिसभा उम्मेदवार छन् । त्यस्तै लमजुङ (क) मा जमिन्द्रमान घले र (ख) मा कृष्णप्रसाद अधिकारी एमालेबाट उम्मेदवार छन् ।















प्रतिक्रिया