
चितवन, २१ कात्तिक । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य तथा चितवन क्षेत्र नम्बर २ (२) का उम्मेदवार देवी ज्ञवालीले चितवनको विकासका लागि प्रदेशको नेतृत्व गर्नेगरी आफू प्रदेश सांसदको उम्मेदवार बनेको बताएका छन् ।
आइतबार भरतपुरमा आयोजित घरदैलोका क्रममा उनले पार्टीले नै प्रदेशको नेतृत्व गर्नुपर्छ भनेर उम्मेदवार बनाएको बताए । नेता ज्ञवाली चितवन–२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णभक्त पोखरेलसहित घरदैलो गरिरहेका छन् ।
निरन्तर निष्ठाको राजनीति गर्दै आएका कारण आफूलाई चितवन २ (२) का जनताले विजयी गराउने उनले बताए । ‘मेरो राजनीतिक क्रियाकलापको क्षेत्र यही हो’, उनले भने, ‘उपप्रमुख हुँदा पनि यही क्षेत्रबाट निर्वाचित भएर काम गरेँ, यही क्षेत्रका जनताको सेवामा आफ्नो जीवन समर्पित गर्न चाहन्छु ।’
उनले भरतपुरको व्यवस्थित विकास आफ्नो प्राथमिकतामा रहेको भन्दै शिक्षा, स्वास्थ्य र रोजगारीलाई आफूले विशेष महत्व दिने बताए । नेता ज्ञवालीले भरतपुरका धार्मिक र पर्यटकीय क्षेत्रको एकीकृत रुपमा विकास गर्नुपर्ने धारणा राखे । उनले आफू सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्ष हुँदा ९० प्रतिशत काम सम्पन्न गरेको बताए । ‘मैले आयोगको अध्यक्ष हुँदा देशभरको समस्या समाधान गर्नेगरी काम गरेको थिएँ, सबै प्रक्रिया सकेर पुर्जा बाँड्ने बेलामा मलाई अध्यक्षबाट हटाइयो’, उनले भने ।
सुकुम्बासी समस्या समाधानका लागि बाँकी काम पूरा गर्नका लागि पनि एमालेको सरकार आउनुपर्ने नेता ज्ञवालीले बताए । उनले आफ्नो निर्वाचन क्षेत्रमा पनि सुकुम्बासीको समस्या धेरै रहेको भन्दै त्यसलाई समाधान गर्नका लागि निरन्तर काम गर्ने बताए ।
मुग्लिन–नारायणगढ सडकको विकल्पमा शक्तिखोर–माझिमटार सुरुङमार्ग निर्माण गर्नुपर्ने भन्दै उनले सिँचाइ र जलविद्युत्सहितको सुरुङमार्ग निर्माण गर्न सके चितवनको विकासमा कायापलट हुने धारणा राखे । चितवनमा सिँचाइको समस्या समाधानका लागि पनि यो अयोजना आवश्यक रहेको उनको भनाइ छ ।












प्रतिक्रिया