
काठमाडौं, १४ कात्तिक । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
टीयू क्रिकेट मैदानमा सोमबार सुदूरपश्चिम प्रदेशलाई ६९ रनले हराउँदै गण्डकीले सुखद सुरुवात गरेको हो ।
गण्डकीले दिएको २०९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमले ३२ ओभर ४ बलमा अलआउट हुँदै १३९ रन मात्रै बनाउन सक्यो ।
त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले ५० ओभरमा ८ विकेट गुमाएर २०८ रन बनायो । गण्डकीका लागि अर्जुन कुमालले ६३ रनको अर्धशतकीय इनिङ खेले । जितसँगै गण्डकीले पहिलो खेलमै २ अंक जोडेको छ ।
गण्डकी समूह ‘ए’ को शीर्ष स्थानमा रहेको छ । त्यसअघि सोमबार नै भएको अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा प्रदेश–१ लाई ७ विकेटले हराउँदै पुलिसले लगातार दोस्रो जित निकालेको हो ।
प्रदेश–१ ले दिएको १ सय ३ रनको लक्ष्य पुलिसले १४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि पहिले ब्याटिङ गरेको प्रदेश–१ ले ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय २ रन बनाएको थियो । कात्तिक २६ गतेसम्म चल्ने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश रहेको छ ।
समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ रहेको छ । हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ५ लाख पाउने छन् । सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउने छन् ।















प्रतिक्रिया