
काठमाडौं, ६ कात्तिक । इङलिश प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलहरुमा नोट्टीङघम , एभर्टन र म्यानचेस्टर सिटीले जित हात पारेको छ ।
शनिबार भएको खेलमा नोट्टीङघमले लिभरपुललाई १-०, एभर्टनले क्रिस्टल प्यालेसलाई ३-० र म्यानचेस्टर सिटीले ब्राइटनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
योसँगै जारी सिजनमा नोट्टीङघम फोरेस्टको यो दोस्रो जित हो । अहिलेसम्म १२ खेल खेलेको नोट्टीङघमको २ जित, ३ बराबरी र ७ हारसहित ९ अंक रहेको छ भने लिगमा १९औं स्थानमा छ ।
नोट्टीङघमसँग हारेको लिभरपुलको यस सिजनको ११ खेलमा तेस्रो हार हो । लिभरपुल यस सिजनमा १६ अंकसहित लिगको सातौ स्थानमा रहेको छ ।
यसैगरी एभर्टनको यस सिजनमा यो तेस्रो जित हो । योसँगै एभर्टन १२ खेलमा १३ अंकसहित लिगको ११औँ स्थानमा उक्लिएको छ । त्यस्तै क्रिस्टल प्यालेस ११ खेलमा १३ अंकसहित लिगको १२औं स्थानमा रहेको छ ।
यता, शनिबार जित पारेको सिटी ११ खेलमा ८ जित, २ बराबरी र १ हारसहित २६ अंकसँगै लिगको दोस्रो स्थानमा रहेको छ भने सिटीसँग पराजित बनेको ब्राइटन ११ खेलमा १५ अंकसहित लिगको आठौ स्थानमा रहेको छ ।
यसैगरी, शनिबारनै भएको चेल्सी र म्यानचेस्टर युनाइटेडबीचको खेल बराबरीमा रोकिएको छ ।
गएराती सम्पन्न खेलमा चेल्सी र युनाइटेड १-१ गोलको बराबरीमा रोकिएका हुन् । बराबरीमा रोकिएको चेल्सी ११ खेलमा २१ अंकसहित लिगको चौथो स्थानमा छ भने युनाइटेडको १० खेलमा २० अंकसहित लिगको पाँचौ स्थानमा रहेको छ ।
लिगको पहिलो स्थानमा आर्सनल रहेको छ । १० खेलमा ९ जित र एक हारसहित आर्सनल २७ अंकसहित लिगको पहिलो स्थानमा रहेको छ ।















प्रतिक्रिया