५ कार्तिक २०८३, बिहिबार

माओवादी नेत्री खड्काले राजीनामा दिएको पुष्टि

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, २ कात्तिक । नेकपा माओवादी केन्द्रकी नेत्री देवी खड्काले जिल्ला इञ्चार्जको जिम्मेवारीबाट राजीनामा दिएको पुष्टि भएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टी नेतृत्वले दोलखाको टिकटबारे गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएकी हुन् ।

पार्टी पोलिटव्युरो सदस्य समेत रहेकी नेत्री खड्काले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा दिएको स्वीकार गरेकी छन् । यद्यपि, टिकट नपाएर नभई स्वास्थ्यका कारण राजीनामा दिएको उनको दाबी छ ।

माओवादी केन्द्र उच्च स्रोतले भने पार्टी नेतृत्वले नेता गंगा कार्की ‘विश्व’लाई प्रतिनिधिसभा सदस्यको टिकट दिएको विषय नै राजीनामाको कारण भएको जनाएको छ । ‘देवी खड्का पार्टीबाट प्रत्यक्ष निर्वाचन लड्न बलियो उम्मेदवार हो, उहाँ महिला भएको हिसाबले पनि टिकट पाउनुपर्थ्यो,’ स्रोतले भन्यो, ‘तर, पार्टीको फरक निर्णय आएलगत्तै उहाँले असन्तुष्टि जनाउँदै राजीनामा दिनुभएको हो ।’

खड्काले राजीनामा दिएकोबारे मंगलबार दैनिक नेपालमा समाचार प्रकाशित भएको थियो । सो समाचार गलत भएको दाबी गर्दै प्रतिनिधिसभाका उम्मेदवार गंगा कार्की ‘विश्व’निकटका केही व्यक्तिले मंगलबार अबेर टेलिफोन गरी धम्कीपूर्ण भाषामा समाचार हटाउन दबाब दिएको थियो ।

उनले पदबाट दिएको राजीनामा पार्टी हेडक्वार्टरले स्वीकृत गरिसकेको छैन । उनी दोलखाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको प्रमुख दाबेदार थिइन् । पारिवारिक नाताले गंगा र देवी सालीभेना हुन् । तर, उनीहरूबीच पार्टी शान्ति प्रक्रियामा आएदेखि नै लगातार तीव्र अन्तरसंघर्ष चल्दै आएको छ ।

संसदीय निर्वाचनका लागि बलियो उम्मेदवारलाई अवसर नदिएर पार्टीले खड्कामाथि अन्याय गरेको भन्दै निर्वाचनको माहोलमा धेरै नेता–कार्यकर्ताले गुनासो गर्न थालेका छन् ।

खड्का २०६४ सालको पहिलो संविधानसभामा माओवादीबाट निर्वाचित भएर राज्यमन्त्री समेत बनेकी थिइन् ।

खड्काले जिल्ला इञ्चार्जको जिम्मेवारीबाट राजीनामा दिएसँगै निर्वाचनमा पार्टी पङ्क्ति निराश डरले पार्टी केन्द्रीय सदस्यलाई बेवास्ता गर्दै हतारमा वैकल्पिक केन्द्रीय सदस्य विशाल खड्कालाई इञ्चार्जको जिम्मेवारी दिइएको प्रचार गरिएको छ । देवी र विशाल सहोदर दिदीभाइ हुन् ।

दिदीले पदबाट दिएको राजीनामा स्वीकृत नभई भाइलाई इञ्चार्जको जिम्मेवारी दिइएको प्रचारबारे पनि पार्टी कार्यकर्ताहरू अन्योलमा छन् ।