
काठमाडौं, २७ असोज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सत्ता गठबन्धनका सबै मन्त्रीहरु बर्खास्त गर्ने तयारी अगाडि बढाएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेका राजेन्द्र श्रेष्ठ, मृगेन्द्रकुमार सिंह, मोहम्मद इश्तियाक राई र प्रदीप यादवलाई बर्खास्त गरेसँगै जसपाका नेता समेत रहेका मुख्यमन्त्री राउतले सत्ता गठबन्धनका मन्त्रीहरुलाई बर्खास्त गर्न लागेको स्रोतले जनाएको छ ।
जसपा नेतृत्व रहेको मधेस प्रदेशमा गठबन्धनबाट नेपाली काँग्रेसका तीन, नेकपा माओवादी केन्द्रका २ मन्त्री र एक राज्यमन्त्री, नेकपा एसका दुई मन्त्री र एक राज्यमन्त्री छन् ।
जसपा स्रोतका अनुसार गठबन्धनका मन्त्रीहरुले भोलिसम्म नैतिकताको आधारमा राजीनामा नदिए बर्खास्त गर्ने मुख्यमन्त्री राउतको तयारी रहेको छ ।
जसपाले नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि बिहीबार प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरु बर्खास्त गरेका थिए ।
सत्ता गठबन्धनलाई काउन्टर दिन जसपा नेतृत्वको मधेस प्रदेश सरकारका मुख्यमन्त्री राउतले गठबन्धनका मन्त्रीहरु बर्खास्त गर्न तयारी थालेको स्रोतको दाबी छ ।















प्रतिक्रिया