शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

नेपालको कानुन : नेतालाई हतकडी नलगाउने, सन्दीपलाई लगाउने ?

दैनिक नेपाल २०७९ असोज २० गते १८:३२

काठमाडौं, २० असोज । नेपालीहरुले आफ्नो महान पर्व दसैँ पर्व मानिरहेका छन्, केही दिनअघि देखि परिरहेको अविरल वर्षाले मौसम चिसो छ । तर, तीन तस्वीरले सामाजिक सञ्जाल तातेको छ ।

छुट्टाछुट्टै तीन तस्वीरमा पहिलो तस्वीर बलात्कारको आरोप लागेर प्रहरी समक्ष आत्मसमर्पण गरेका सन्दीप लामिछानेको हो भने दोस्रो तस्वीर इट्टा भट्टामा जिउँदै मान्छे पोलेर जेलमा रहेका नेपाली कांग्रेस नेता मोहमद आफ्ताव आलमको हो । तेस्रो चाँहि बलात्कार प्रयासको आरोप लागेका तत्कालिन सभामुख, अहिले माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको तस्वीर हो ।

पहिलो कुरा त सन्दीप अपराधी होइनन्, आरोपी मात्र हुन् । उनीमाथि लागेको आरोपको छानबिन हुनै बाँकी छ । तर, गम्भीर आरोप लागेका सन्दीपलाई हतकडी लगाउने र तीनै गम्भीर आरोप लागेका नेताहरुलाई भने हतकडी नलगाएको विषयमा सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर, टिकटक) मा बहस सुरु भएको छ ।

बलात्कारको आरोप लागेर लामो समय सम्पर्कविहीन बनेका लामिछाने आफैले आत्मसमर्पण गर्दा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हतकडी लगाएर प्रहरी वृत्त गौशालामा लगेको थियो । लामिछानेले हतकडी लुकाउन रुमालको प्रयोग गरेका थिए भने मुख छोप्न माक्स प्रयोग गरेका थिए ।

१४ वर्षअघि रौतहटमा इट्टा भट्टामा जिउँदै मान्छे पोलेर ज्यान लिने आलमलाई भने प्रहरीले नेता भएकै कारण हतकडी नलगाइ कानून समक्ष उभ्याएको थियो । यद्यपि, आलम पुर्पक्षका लागि थुनामा रहेका छन् । केही साता अघि नेपाली कांग्रेसले आलमलाई रौतहट क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस समेत गरिसकेको छ ।

यसैगरी, माओवादीका नेता समेत रहेका निवर्तमान सभामुख महरालाई प्रहरीले नियन्त्रणमा लिँदा हतकडी लगाएको थिएन । जबकी महरामाथि पनि सन्दीपको जस्तै बलात्कारको आरोप थियो । केही महिना जेल बसेका महराले काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका छन्।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको प्रशासनले नेता र सर्वसाधारणमा भेदभाव गरेका भनी आज सामाजिक सञ्जाल तातेको छ ।

टिप्पणीकर्ताहरूले भनेका छन् – नेपालको कानुन, दैवले जानुन! उनीहरूले शेरबहादुर देउवा नेतृत्वको सरकारसँग जवाफ पनि माग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित