
काठमाडौं, १२ असोज । प्रविधि कम्पनी एपलले भारतमा आईफोन १४ बनाउन थालिएको बताएको छ ।
उसले चीनबाट आफ्नो आपूर्तिको सञ्जाल बाहिर लैजान खोजिरहेको छ ।
एपलले आफ्ना अधिकांश फोन चीनमा उत्पादन गर्छ । तर संयुक्त राज्य अमेरिका र बेइजिङबीच तनाव बढेकाले उक्त कम्पनीले केही उत्पादन चीनबाहिर गर्न थालेको छ ।
चीनमा लागू गरिएको ‘शून्य कोभिड’ नीतिका कारण व्यापक लकडाउन हुँदा महामारीका बेला व्यापार पनि नराम्ररी प्रभावित भएको थियो । एपलले केही साताअघि आईफोनको नयाँ संस्करण बजारमा ल्याएको हो ।
‘नयाँ आईफोन १४ मा नवीनतम प्रविधिहरू र महत्त्वपूर्ण सुरक्षा क्षमता छन् । हामी भारतमा आईफोन १४ उत्पादन गर्न उत्साहित छौँ,’ एपलले एउटा विज्ञप्तिमा भनेको छ ।
ताइवानमा आधारित फक्सकन कम्पनीले एपलका अधिकांश फोनहरू निर्माण गर्दै आएको छ । उक्त कम्पनीले दक्षिण भारतको तमिलनाडुमा सन् २०१७ देखि आईफोनका पुराना संस्करणका ह्यान्डसेट बनाउँदै आएको थियो । तर, अब एपलले आफ्नो नयाँ उत्पादन आईफोन १४ भारतमै बनाउन खोजेको छ ।
के आईफोन अब सस्तो हुन्छ ?
भारतमा आउँदा एपलले आफ्नो बजार बढाउने उद्देश्य पनि राखेको छ । गत वर्षसम्म भारतको बजारमा आईफोनको हिस्सा चार प्रतिशत मात्र थियो ।
उक्त अमेरिकी कम्पनीले सस्ता स्मार्टफोनसँग प्रतिस्पर्धा गर्नुपरेको छ । भारतको मोबाइल बजारमा चीन र दक्षिण कोरियामा उत्पादित सस्ता फोनहरू निकै लोकप्रिय छन् ।
भारतमा उत्पादन गरिए पनि आईफोनको मूल्यमा कुनै अन्तर भने पर्नेछैन । आईफोनका अवयवहरू आयात गर्न लाग्ने चर्को शुल्क र अन्य करका कारण आईफोनको मूल्य नघट्ने देखिन्छ ।
भारतीय प्रयोगकर्ताहरूले आईफोनमा अब ‘मेड इन इन्डिया’ देखे पनि आईफोन किन्न ठूलो रकम तिर्नुपर्नेछ ।
भारतलाई कस्तो फाइदा ?
भारतमा आईफोन उत्पादन बढ्ने घोषणालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको उपलब्धिका रूपमा लिइएको छ ।
आठ वर्षअघि मोदी सरकारले ‘मेक इन इन्डिया’ अभियान सुरु गरेको थियो । त्यसअन्तर्गत भारतमा हुने उत्पादन र भारतबाट हुने निर्यात बढाउने उद्देश्य राखिएको थियो ।
ताइवान र व्यापारको विषयमा अमेरिका र चीनबीच तनाव बढ्दै गर्दा चीनबाट हुने आपूर्ति प्रभावित हुनसक्ने आकलनसहित एपलले आफ्नो कारखाना अन्यत्र सार्न यो घोषणा गरेको हो ।
लगानी ब्याङ्क जेपी मोर्गनका विश्लेषकहरूले आईफोनले आफ्नो पाँच प्रतिशत उत्पादन यो वर्ष भारतमा सार्ने अपेक्षा गरिएको बताएका छन् ।
यो महिना प्रकाशित एउटा प्रतिवेदनमा उनीहरूले सन् २०२५ सम्ममा आईफोनको २५ प्रतिशत उत्पादन भारतमा हुने पूर्वानुमान गरेका छन् ।
गत वर्ष एपलको आपूर्तिकर्ता फक्सकनले भियतनाममा १.५ अर्ब डलर लगानी गरेको भियतनाम सरकारले जनाएको छ ।
गत महिना भियतनामको सरकारी सञ्चारमाध्यमले जनाएअनुसार एपल कम्पनीले देशको उत्तरी भेगमा अवस्थित आफ्नो कारखाना विस्तार गरेर उत्पादन बढाउन २० करोड डलरको एउटा सहमतिमा हस्ताक्षर गरेको थियो ।
नयाँ आईफोनमा के छ ?
एपलले आफ्नो नयाँ फोन दुईवटा आकारमा ल्याएको छ । ती आईफोन १४ र आईफोन १४ प्लस हुन् । आईफोन १४ मा भू–उपग्रहसँगको सम्पर्क सञ्जाल र कार दुर्घटना भएको पत्ता लगाउन सक्ने प्रविधि जडान गरिएको छ ।
नयाँ हेडसेटमार्फत् भूउपग्रहको माध्यमबाट आपत्कालीन सहयोगको माग गर्दै कल गर्न सकिन्छ । फोनले आकाशमाथि रहेको भू–उपग्रहको अवस्था देखाउँछ र कसरी ठिक ढङ्गले तीसँग सम्पर्क स्थापित गर्ने भन्ने पनि निर्धारण गर्छ ।
एउटा साधारण सन्देश पठाउन १५ सेकेन्डदेखि केही मिनेटसम्म लाग्न सक्छ । नयाँ आईफोनमा १२ मेगापिक्सलको क्यामरा पनि छन् । त्यसले द्रुत गतिमा चलिरहेका वस्तुहरूको पनि तस्बिर खिच्न सक्छ ।
एपल कम्पनीले कम प्रकाशमा तस्बिर खिच्ने क्षमता ४९ प्रतिशतले वृद्धि भएको दाबी गरेको छ । अगाडिको क्यामरामा पहिलो पटक अटोफोकस राखिएको छ त्यसले अझ राम्रो सेल्फी खिच्न सक्छ ।
डाइनामिक आइल्यान्ड भनिने एउटा फीचरले कस्तो नोटिफिकेशन आउँछ त्यसअनुसार आफ्नो आकार बदल्न सक्ने भनिएको छ ।
नचलाएको बेला फोनको स्क्रीन मधुरो हुन्छ र एप्लिकेशनहरू रिफ्रेश हुने दर घट्छ । फोनको सेट गाढा बैजनी, कालो, चाँदीजस्तो र सुनौलो रङ्गमा पाइन्छ । बीबीसीबाट















प्रतिक्रिया