बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

साफ च्याम्पियनशीपमा नेपाल दोस्रो, सविना खातुन बनिन् सर्वोत्कृष्ट खेलाडी

राष्ट्रिय टोलीका तीन सदस्यको सन्यास घोषणा

दैनिक नेपाल २०७९ असोज ३ गते २२:५८

काठमाडौं, ३ असोज । घरेलु मैदानमा नै आयोजना भएको छैटौँ संस्करणको महिला साफ च्याम्पियनशीप फुटबल प्रतियोगितामा नेपाल उपविजेता बनेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा नेपाल बङ्गलादेशसँग ३–१ गोलअन्तरले पराजित भएपछि नेपाल उपविजेता बनेको हो ।

यसपटक पनि नेपालको उपाधि जित्ने सपना भने चक्नाचुर भयो । करिब १६ हजार दर्शकको सहभागिता रहेको फाइनल खेलमा घरेलु दर्शकको साथ हुँदाहुँदै पनि दोस्रो स्थानमा रहन बाध्य बन्यो ।

साफ च्याम्पियनशिपको १२ वर्षे इतिहासमा भारतलाई पहिलो पटक पराजित गर्दै एतिहासिक सफलता हासिल गरेको नेपाल अन्ततः फाइनलमा बङ्गलादेशसँग पराजित भयो । बङ्गलादेशको जीतमा श्रीमोती कृष्णरानी सरकारले दुई गोल गरिन भने सम्सुनाहारले एक गोल थपिन् ।

खेलको पहिलो हाफसम्म २–० को अग्रता लिएको बङ्गलादेशले दोस्रो हाफमा एक गोल थप्यो । मोसमत सोप्नाको स्थानमा मैदान प्रवेश गरेकी साम्सुनाहारले बङ्गलादेशको लागि पहिलो गोल गर्दै खाता खोलिन् । उनी मैदान प्रवेश गरेको तीन मिनेटमा नै गोल गरेकी हुन् । उनले खेलको १३औँ मिनेट मोनिका चक्माको क्रस बललाई सदुपयोग गर्दै गोल गरिन् ।

खेलको ४१औँ मिनेटमा बङ्गलादेशले आफ्नो अग्रता दोब्बर बनायो । बङ्गलादेशकी खेलाडी श्रीमोतीले साम्सुनाहारले पेनाल्टी क्षेत्रअघि बल खोेसेपछि कप्तान सविना खातुनले कृष्णरानीलाई पास दिएकी थिइन् सोही पासलाई सदुपयोग गर्दै कृष्णरानीले गोल गरिन् ।

खेलको ७०औँ मिनेटमा नेपालकी खेलाडी अनिता बस्नेतले एक गोल फर्काइन् । उनले अमिशा कार्कीको पासमा गोल गर्दै खेललाई २–१ मा ल्याइन् ।

अनिताले गोल गरेको ६ मिनेट पनि बित्न नपाउँदै बङ्गलादेशकी कृष्णरानीले व्यक्तिगत दोस्रो गोल गर्दै बङ्गलादेशलाई ३–१ को जित दिलाइन् । मिडफिल्डमा नेपालले बल गुमाएपछि त्यसैको सदुपयोग गर्दै कृष्णरानीले गोल गरिन् ।

यसजितसँगै बङ्गलादेशलले महिला साफ च्याम्पियनशिपको ऐतिहासिक उपाधि हात पा¥यो । साफ च्याम्पियनशिपको पाँचौँ संस्करणसम्मको उपाधि भारतले जित्दै आएको थियो । नेपालले सेपिफाइनल खेलमा भारतलाई पराजित गरेपछि भारत प्रतियोगिताबाट बाहिरिएको हो ।

खेलपछि बङ्गलादेशका प्रशिक्षक गोल्मु रोबिनी चोटानले आफ्ना खेलाडी शारीरिक र मानसिक रुपमा स्ट्रोङ भएकाले जित हात पार्न सहज भएको बताए । सेमिफाइनल खेलमा नेपालले भारतलाई तथा बङ्गलादेशले भुटानलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थिए

सविना खातुन सर्वोत्कृष्ट खेलाडी

प्रतियोगितामा बङ्गलादेशकी कप्तान सविना खातुन उत्कृष्ट खेलाडी घोषित भइन् । उनले उच्च गोलकर्ताको उपाधि पनि हासिल गरिन् । यस प्रतियोगितामा उनले आठ गोल गरेकी थिइन् ।

त्यसैगरी उत्कृष्ट गोलकिपरको उपाधि पनि बङ्गलादेशकी खेलाडीले नै जितिन् । बङ्गलादेशकी रुप्ना चक्मा उत्कृष्ट गोलकिपर चुनिन् । त्यस्तै बङ्गलादेशले फेयर प्ले ट्रफीसमेत हात पार्यो ।

राष्ट्रिय टोलीका तीन सदस्यको सन्यास घोषणा

यसै प्रतियोगिता समापनसँगै राष्ट्रिय महिला फुटबल टोलीका तीन खेलाडीले अन्तरराष्ट्रिय खेलबाट सन्यास घोषणा गरेका छन् । सन्यास घोषणा गर्ने खेलाडीमा डिफेन्डर पुनम जर्घामगर छिन् भने मिडफिल्डरद्वय दीपा राई र इन्दिरा राई छन् ।

पुनमले सन् २०१४ मा पाकिस्तानमा भएको महिला साफ च्याम्पियनशिपकाट डेब्यु गरेकी थिइन् । उनले राष्ट्रिय टिमका लागि ३८ खेल खेलेकी छिन् । त्यसैगरी दीपा राइले पनि सन् २०१४ मा पाकिस्तानमै भएको साफ च्याम्पियनशिपबाट डेब्यु गरेकी थिइन् । उनले राष्ट्रिय टिमबाट ३६ खेल खेलेकी छिन् ।

त्यस्तै इन्दिरा राईले भने सन् २०१८ बाट राष्ट्रिय टिममा प्रवेश गरेकी थिइन् । उनले चीनमा आयोजना भएको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन् । उनले राष्ट्रिय टिमबाट जम्मा पाँच खेल खेलेकी हुन् । उनीहरुलाई अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले बिदाइ गरे ।

साफ च्याम्पियनशीपका विजेतालाई एन्फा अध्यक्ष नेम्बाङ र राखेपका सदस्य–सचिव घिसिङलगायतले पुरस्कार प्रदान गरेका थिए । रासस

प्रतिक्रिया
सम्बन्धित