काठमाडौं, २२ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र उनका विश्वास पात्र समेत रहेका माओवादी केन्द्रका नेता जनार्दन शर्माबीच सार्वजनिक कार्यक्रममै भनाभन भएको छ । बुधबार माओवादीनिकट अखिल क्रान्तिकारीको ‘क्रान्तिकारी फोर्स घोषणा कार्यक्रम’मा पार्टी अध्यक्ष प्रचण्ड र अर्थमन्त्री समेत रहेका शर्माबीच एक अर्काप्रति आक्रमक टिप्पणी भएको हो ।
कार्यक्रममा बोल्दै शर्माले आफू संगठन विभाग प्रमुखको हैसियतमा कार्यक्रमलाई सम्बोधन गर्न आएको बताएका थिए । जबकी उनलाई कार्यक्रमका सञ्चालकले पार्टी उपमहासचिवको रूपमा सम्बोधन गर्न बोलाएका थिए । कार्यक्रममा शर्माले आफू उपमहासचिव नभई संगठन विभाग प्रमुखको हैसियतमा बोल्न आएको बताउँदै अध्यक्ष प्रचण्डले महासचिव नबनाएकोमा घुमाउरो तरिकाले असन्तुष्टि पोखे ।
शर्माले प्रचण्डको सबैभन्दा ठूलो रक्षक र सबैभन्दा ठूलो आलोचक आफू नै रहेको बताए । उनले पार्टीको नीति र नेतृत्व सही ढंगले अघि बढ्न नसकेको भन्दै अध्यक्ष प्रचण्डको कडा आलोचना गरे ।
शर्माले भनेः
म नीति र नेतृत्वको रक्षा गर्ने मान्छे हुँ। सही नीति र नेतृत्को रक्षा गर्ने अहिले पनि मेरो दायित्व हो। तर नीति र नेतृत्व सही ढंगले अगाडि बढ्नुपर्छ भन्ने पनि मेरो माग हो ।
शर्माले मञ्चमै रहेका अध्यक्ष प्रचण्डलाई आफ्नो जवाफ फर्काउन अनुरोध गर्दै नीति र नेतृत्व सही ढंगले अघि नबढे आन्दोलन अघि बढ्न नसक्ने बताएका थिए ।
शर्माको असन्तुष्टि सुनेका प्रचण्डले पनि कार्यक्रमै जवाफ फर्काए । शर्माको रक्षा गर्न र हुर्काउन पनि आफूलेनै मुख्य भूमिका खेलेको बताउँदै प्रचण्डले शर्मालाई आफ्नो धरातल नभुल्न चेतावनी समेत दिन भ्याए।
प्रचण्डले भनेः
जनार्दनजीले जाँदाजाँदै भन्नुभयो- नीति र नेतृत्वको रक्षाको कुरा । म तपाईंहरुलाई के भन्न चाहन्छु भने जनार्दनलाई रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो । उनको रक्षा गर्ने र विकास गर्ने कुरामा पनि मेरो भूमिका छ। म जनयुद्धदेखि अहिलेसम्म नेतृत्वमा छु। मेरो लागि धेरै चिज भएकै छ। अब म लाखौं उत्तराधिकारी तयार पार्न चाहन्छु ।















प्रतिक्रिया