
एउटा अनलाइन पत्रिकाले २० भदौमा म निर्भयबाबु प्रसाई (जोन) र सम्बन्धित व्यावसायका विषयमा कपोकल्पित र भ्रामक सूचनाको खेतीपाती गरी नीजि र सार्वजनिक जीवनलाई असर पार्ने काम गरेको अनुभूति गरेको छु।
चेक अनादर गरेको अभियोगमा पक्राउ गरेको भनी जिल्ला प्रहरी कार्यालय भक्तपुरमा राखिएको भन्ने समाचार स्रोतलाई हवाला दिँदै लेखिएको छ। ४० लाख चेक बाउन्स गरेको उजुरी परेपछि प्रहरी परिसर भक्तपुरको विशेष टोलीले प्रसाईलाई भक्तपुरबाटै पक्राउ गरेको भन्ने मिथ्या तथा भ्याली ड्राइभिङ सेन्टर खरिदका क्रममा बुझाउन पर्ने रकम ४० लाख रुपैयाँको चेक बाउन्स भएको भन्ने विवरण उल्लेख गरी चरित्र हत्या गर्ने काम भएको छ।
समाचारमा मिटरब्याजी भनी लाञ्छित गर्नु घोर आपत्तिको विषय भएको जानकारी गराउन चहान्छु। व्यावसायीक कारोबारमा घरका परिवारभित्रका सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईका दाजु राकेशप्रसाद प्रसाईसँगको कारोबारको सन्दर्भलाई पत्रकार र पत्रकारितामार्फत मिटरब्याज भनी निक्र्यौल गर्ने आधार के हुन्? यस्तो निर्लज्ज पत्रकारिताले कसैको परिवारभित्रको अवस्थालाई समेत बिगार्ने काम गरेको स्पष्ट पार्न चहान्छु।
यो पहेँलो पत्रकारिताको भद्दा नमूना त हो नै समाचारीय हिसाबले पनि विश्वसनिय हुनेगरी विवरण पेश गरिएको छैन।
भक्तपुरमा ट्रायल सेन्टरका नाममा विभिन्न गैरकानुनी धन्दा गरेको भन्ने मनगढन्ते कहानी लेखी स्वच्छ र सरकारलाई कर तिरेर काम गरी खाएको अवस्थामा पनि धावा मात्र बोलिएको छैन व्यावसायीक क्षेत्रको तथा मेरो समेत तस्बिर बिनाअनुमति राखेर परिवारका सदस्य, समाजमा समेत प्रायोजित बदनाम गराउने प्रयत्न दुखदायी र आपत्तियोग्य मात्रै छ।
पत्रकारिताको मर्यादा र सीमाभन्दा बाहिर यसरी चरित्र हत्या हुनेगरी तथ्यको गहिराईमा नपुगी तथा अभियोग लगाईको व्यक्तिसँग सत्यको परिक्षण नै नगरी नियतबस लेखिएको समाचारले सामाजिक चरित्रमा नै दाग लगाउन केही न केही भूमिका खेल्छ।
जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय भक्तपुर वा कुनै पनि ठाउँमा आफू नभई मेरो निजी निवासमा रहेको जानकारी गराउँदछु। यसबाहेक समाचारको विषयलाई लिएर कानुनी उपचारमा जाने भन्दा पनि यस्ता गलत प्रवित्तिलाई बन्द गरियोस् भन्ने अपिल गर्दछु।
समाचारमा के–कति तथ्य हुन् र कसैले सुनाएको भरमा त्यसको तथ्य परिक्षण नगर्दा प्रकाशित समाचार आफैंमा सत्य, सन्तुलित र विश्वसनिय नभएको स्पष्ट नै छ। अतः नम्रताका साथ अपिल छ– कसैले सुनाएको भरमा र त्यसको परिक्षण नै नगरी सार्वजनिक सञ्चार माध्यमले मनपरी ढङ्गले समाचार बनाउनु कत्तिको उचित, न्यायोचित छ? सम्बन्धित पक्षले हेक्का राख्न आवश्यक हुन्छ र राखियोस् भन्दछु।
-निर्भयबाबु प्रसाई











प्रतिक्रिया