५ कार्तिक २०८३, बिहिबार

फेरि ब्युँतियो वाम एकताको वहस : नेतृत्व गर्न तयार होला एमाले ?

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १० भदौ ।  बिहीबार नेकपा एमालेको पोलिटब्यूरो बैठकमा फेरि वाम एकताको वहस प्रवेश गरेको छ । एमालेको नेत्तृत्वमा वाम एकता गर्नुपर्ने भन्दै स्थायी कमिटी सदस्य घनश्याम भुसालले बैठकमा वाम एकताको बिषयलाई प्रवेश गराए ।

अहिले देशको वाम राजनीतिक शक्ति मध्य सबैभन्दा बलियो र ठूलो एमाले देखिन्छ । नेपालको राजनीतिक परिदृश्य पुनः वदलावको संकेत देखाएको छ । नेकपा माओवादी केन्द्र, नेकपा (एकिकृत समाजवादी), नेपाल समाजवादी पार्टी र राष्ट्रिय एकता अभियान विगत केही समययता एमाले वाहेकको वाम एकता गर्ने भन्दै लागिपरेका थिए । देशका अन्य दलहरु एमाले वाहेक वाम एकताको कसरत गरिरहँदा एमालेको औपचारिक बैठकमा पनि वाम एकताको प्रस्ताव हुनुलाई फरक ढंगले हेरिएको छ । अब नेपाली राजनीतिक वृत्त फेरिने सम्भावना बढेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

बैठकमा भुषालले पेश गरेको प्रस्तावमा एमालेले खासै छलफल गरेन् । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बाट सम्भव नभएको निष्कर्षसहित भुसालले एमालेले नै वाम एकताको नेतृत्व गर्नुपर्ने जिकिर गर्दै पेश गरेको प्रस्तावमा लेखिएको थियो, ‘अहिले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसमेतले जितेको स्थानीय तह जम्म ३४७ छन् । कम्तीमा १५० स्थानीय तह कम्युनिष्ट पार्टीको विभाजनका कारण गुमेको छ । त्यो क्षति हामी बाँचेका सबै कम्युनिष्टको नालायकी हो ।’ वाम एकता गरेर निर्वाचनमा जाँदा १६५ मध्य १५० सिटसम्म जित्न सक्ने आंकलन उनले पेश गरेको प्रतिवेदनमा उल्लेख छ । ‘स्थानीय तहको परिणामका आधारमा हेर्दा वाममोर्चा बनेको अबस्थामा संघीय संसदको निर्वाचनमा प्रत्यक्षतर्फ १६५ सिटमा १५० सिटसम्म ल्याउन सक्ने देखिन्छ । त्यसको अर्थ संसदमा दुई तिहाइभन्दा बढी हो । वाममोर्चा नबन्दा कम्युनिष्ट पार्टीले गुमाउने छर्लङ्गै छ’, प्रस्तावमा भनेका छन् ।

भुषालले पेश गरेको प्रतिवेदनको सारम्समाको अर्थ नेपालमा कम्युनिष्टहरु एक नहुँदा कांग्रेस लगायतका अन्य दलहरुले त्यसको फाइदा उठाईरहेका छन् भन्ने नै छ । भुषालले पेश गरेको प्रस्तावमा एमालेका केही नेताहरु सहमत भएपनि अधिकांसले भने मौन नै देखिएको नेताहरु बताउँछन् ।

एमालेमा मात्रै हैन्, केही दिनयता माओवादी, नेकपा एस, नेसपा लगायतका दलहरुले पनि एमालेसहितको वाम एकताको प्रयत्न गरिरहेका छन् । केही दिन अघि मात्रै माओवादीका महासचिव देव गुरुङले एक सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘५ दलीय गठबन्धन पनि एउटा सहमतिको मोडल हो । तर, यसबाहेक अधिकतम लचकताका साथ कम्युनिस्ट दहरूसँग पनि मिलेर जानुपर्छ भनेर हामी लागिरहेका छौँ । त्यसका लागि पछिल्लो समय एमालेसहितको वाम मोर्चाको निर्माण गर्न सकिन्छ कि ? भनेर सहकार्य गरेर अघि बढ्ने प्रक्रिया चलिरहेको छ ।’

अहिले एमालेसहितका दलहरु निर्वाचनमा होमिएका छन् । नेकपा एमाले नेतृत्वको सरकार ढाल्नेदेखि, गत स्थानीय निर्वाचनसम्ममा देशभर एमाले बिरुद्ध सत्तारुढ दलहरु गठबन्धनमा सँगसँगै छन् । उनीहरु आगामी मंसिर ४ मा हुने आम निर्वाचनमा पनि एमाले बिरुद्ध एक हुने तयारीका साथ सिट भागबन्डा मिलाउन दौडधुप गरिरहेका छन् ।

एमाले बिरुद्धको गठबन्धनका लागि दौडधुप चलिरहेकै बेला आएको वाम एकताको वहसलाई एमालेले कसरी हेरेको छ ? एमालेले साँच्चै फेरि वाम एकताको नेतृत्व गर्छ ? भन्ने बिषयमा राजनीतिक बिष्लेषकहरु पनि अन्यौलमा देखिन्छन् । यद्यपी उनीहरु एमालेले नेतृत्व गरेर अघि बढ्दा फाइदा हुने बताउँछन् ।

माओवादीसँग वाम एकता गरेर निर्वाचनमा जाँदा, निर्वाचन पश्चात पार्टी एकता गरेर पनि धोका पाएको एमाले अब भने थप सचेत बनेको देखिन्छ । २०७४ को निर्वाचनमा एमालेले माओवादीसँग वाम एकता गरेर चुनाव लडेको थियो । दिनप्रतिदिन कमजोर बन्दै गएको एमालेको साथमा तत्कालिन समयमा माओवादीले उल्लेख्य फाइदा लियो ।

तर, वाम एकतापछि निर्माण भएको नेकपा फुटाएर कांग्रेसलाई साथ दिँदै माओवादीले एमालेको सरकार ढाल्न ठूलो चलखेल गरेको राजनीतिक परिदृश्यका कारण एमालेका शिर्ष नेताहरु सहजै वाम एकताका लागि तयार हुने स्थिती देखिँदैन् ।

‘राजनीति भनेको सम्भावना नै सम्भावनाको खेल हो, सम्भावना नै नहुने भन्ने हुँदैन् । तर, विगतको घटना, अबस्थाबाट पाएको पाठका कारण एमाले फेरि वाम एकताको नेतृत्व गर्न सहजै तयार त नहोला । यसोभन्दै गर्दा गर्दै गर्दैन् भन्ने पनि हुन्न’, एक राजनीतिक विश्लेषक भन्छन् ।