
काठमाडौं, ७ भदौ । कैलालीको टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहितका ७ जना प्रहरी र एक नाबालकको मृत्यु भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउन आज माइतीघर मण्डलामा विशेष नाटक प्रस्तुत गरिने भएको छ ।
सात वर्षअघि थरुहट थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा उक्त घटना भएको हो । २०७२ साल भदौ ७ गते आजकै दिन भएको सो घटनाको सातौँ स्मृति दिवसका अवसरमा उत्पीडन र दमनसम्बन्धी शिल्पी थिएटरले विशेष नाटक प्रस्तुत गर्ने भएको हो ।
टीकापुर बिद्रोह भएपश्चात थरुहट आन्दोलनकर्मी नेता कार्यकर्ताहरू उपर सुनियोजित ढंगले झुठा मुद्दा लगाएर फसाउनुका साथै अदालती प्रक्रियाबाट झनै जटिल बनाइएको आरोप थरुहट थारुवान राष्ट्रिय मोर्चाले लगाउँदै आएको छ ।
करिब डेढ दशकदेखि निरन्तर हुँदै आएको थरुहट आन्दोलनको मुद्दाहरु सम्बोधन नहुनाको साथै सरकारसँग भएका सहमति सम्झौताहरु हालसम्म पनि कार्यान्वयन नभएकाले माइतीघरमा भेला भएर सरकारलाई घटनाको स्मरण गराउनुपरेको मोर्चाको भनाइ छ ।
‘नेपाल सरकारलाई ध्यानाकृष्ट गर्दै खबरदारी गर्नका लागि थरुहट थारुवान राष्ट्रिय मोर्चाको आयोजनामा थरुहट तराई क्षेत्रसहित काठमाडौंको माईतीघर मण्डलामा टीकापुर विद्रोहको ७औं दिवस विविध कार्यक्रमसहित मनाउन लागिरहेका हौं,’ मोर्चाका महासचिव तुलसी थारुले भने ।
उनका अनुसार आज दिउँसो ३ बजे मण्डलामा शान्तिपूर्ण रुपमा भेला भई विशेष नाटक प्रस्तुत गर्नेसम्मको कार्यक्रम तय गरिएको छ । कार्यक्रममा नारा र आफ्ना मुद्दाहरू उल्लेखित प्लेकार्डसहित मानिसहरू शान्तिपूर्ण भेला हुनेछन् भने भेलामा थरुहट आन्दोलनकर्मी एवम् आदिवासी जनजाति नेता अभियन्ताहरुबाट सम्बोधन गरिने तयारी छ ।















प्रतिक्रिया