शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

मेयर बालेन र हर्कको फेसबुकमा रमिते बन्दै ‘जुहारी’ !

दैनिक नेपाल २०७९ भदौ २ गते १०:४९

काठमाडौं, २ भदौ । ‘जसले जे भनोस् तर म काठमाडौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ ! कम्सेकम काम त सुरु गरे ! ’ यो धरानका मेयर हर्क साम्पाङको फेसबुक स्टाटस हो ।

‘हो नि.. ‘तपाईंकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि !’ यो चाहिँ साम्पाङको स्टाटसमा काठमाडौंका मेयर बालेन शाहले गरेको कमेन्ट (प्रतिक्रिया) हो ।

यसरी साँझ हर्क साम्पाङ र बालेन साहको सामाजिक सञ्जालमै जुहारी चल्यो । दुई मेयरबीचको जुहारीमा मजा लिने सामाजिक सञ्जाल प्रयोगकर्ता पनि कम छैनन् ।

साम्पाङको उक्त स्टाटसमा बालेनले कमेन्ट गरेपछि साम्पाङले पुनः अर्को स्टाटस पनि राखेका छन् । जसमा उनले भनेका छन्,‘ देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइँदैन ! मुख बजाउनु छोडेर पाखुरा बजाऊ नालायक हो ! नामले खाएकाहरू हो… तिमेरुको रीस उठोस बेस्सरी ! काम गर काम हावा तालका हो ।’

यहाँ साम्पाङले बालेनलाई नै लक्षित गर्दै ‘मुख बजाउन छोडेर पाखुरा बजाऊ नालायक’ भनेका छन् । जसले फेरी जुहारीको अर्को स्वरूपलाई निम्तो दिने पक्का छ ।

देशका दुई चर्चित स्वतन्त्र मेयरबीचको यो पोस्टमा आएका प्रतिक्रियाहरूमा हर्कलाई धेरैले संयमित हुन र पोस्ट कम गर्न सुझाएका छन् । बालेनको कमेन्टमा भने बहुसङ्ख्यकले ‘साभेज’ भन्दै सहमतिको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित