शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्रचण्डलाई बार्गेनिङको ‘गोटी’ बन्दै बाबुराम र बामदेव

दैनिक नेपाल २०७९ भदौ २ गते ९:५०

काठमाडौं, २ भदौ ।  आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा सत्ता गठबन्धन दलबीच भागबण्डाको किचलो दिन प्रतिदिन बढ्दै जान थालेको छ । सत्ता गठबन्धन सुरु गर्ने बेलैमा कांग्रेसले ६० प्रतिशत लिएर अन्य दललाई ४० प्रतिशत भाग दिने सहमति भएको थियो ।

आगामी निर्वाचनमा पनि कांग्रेसले आफु ६० प्रतिशत लिएर भागबण्डा गर्ने अडान कायम राखिरहेको छ । प्रतिनिधिसभाका १६५ मध्ये ६० प्रतिशत सिटको दाबी गरेको कांग्रेसले ९९ सिट बटमलाइन बनाएको छ । उता, नेकपा माओवादी केन्द्रले पनि केही दिन अघिदेखि आफ्नो पार्टीको बटमलाइन ६० सिट हुने भन्दै आफ्नो अडानबाट पछाडि नहट्ने बताइरहेको छ । यदि गठबन्धनका यी शिर्ष दुई दल आफ्नो बटमलाइनबाट पछि नहट्ने हो भने गठबन्धन फुट्ने पक्का देखिन्छ । किनकी, यी दुई दलको बटमलाइन अनुसार अन्य दलले मात्रै ६ सिटमा बाँड्नुपर्ने अबस्था आउँछ । जसका लागि नेकपा एस, जसपा र राजमो तयार नहुने प्रष्ट देखिन्छ ।

बुधबार सिट बाँडफाँटको मोडालिटी तयार गर्न सत्ता गठबन्धनले बनाएको कार्यदलको तेस्रो बैठक बस्यो । गत २६ साउनमा बसेको कार्यदलको दोस्रो बैठकमा भएको छलफल अनुसार बुधबारको बैठकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले भागबण्डाको मोडालिटी पेश गरेका थिए । तर, माओवादीले सार्वजनिक रुपमा दाबी गरेको बटमलाइनका कारण सिटौलाले कार्यदल बैठकमा प्रस्ताव पेश गर्ने हिम्मत गर्न सकेनन् । सत्ता गठबन्धन दलका शिर्ष नेता, कार्यदलका सदस्य र सम्वन्धित दलबीच भागबण्डामा फरकफरक बटमलाइनको धारणा आउन थालेपछि सिटौलाले मोडालिटी पेश गर्न नसकेका हुन् ।

बुधबारको कार्यदल बैठकमा मोडालिटी पेश गर्न नसकेपछि आज गठबन्धनका शिर्ष नेताहरु बैठक बस्दै छन् । उनीहरुले सिट बाँडफाँडको बिषयलाई प्रमुख एजेण्डा बनाएर बैठक बस्न लागेको स्रोत बताउँछ । कार्यदलले सिट बाँडफाँटको टुङ्गो लगाउन नसक्नुको प्रमुख कारण माओवादी हो । अहिले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टी आफूसँगै भएको भन्दै माओवादीले सिटमा अस्वभाविक बार्गेनिङ गरिरहेको छ । बाबुराम र गौतमको पार्टी आफूसँगै भएकाले बलियो रहेको दाबी गर्दै माओवादीले ६० सिटको बटमलाइन बनाएको छ ।

यो बटमलाइन पूरा गर्नका लागि प्रचण्डले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग धम्कीपूर्ण बार्गेनिङ गरिरहेको स्रोत बताउँछ । स्रोतका अनुसार प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर देउवा नेतृत्वको सरकार बनाउन आफूले नेकपा फुटाएर गुन लगाएको र स्थानीय तहको निर्वाचनमा पनि ठूलो सहयोग गरेको भन्दै बटमलाइन अनुसारको सिट दिन धम्कीपूर्ण आग्रह गरेका छन् ।

‘माओवादी यत्तिकै बलियो पार्टी हो । त्यसैमाथि हामीसँग अन्य दुई राजनीतिक शक्ति पनि सँगसँगै छन् । त्यसैले हाम्रो बटमलाइन अनुसार सिट बाँडफाँड हुनुपर्छ । बिगतमा हामीले गरेको सहयोग हेरेर कांग्रेसले कम्प्रमाइज गर्नुपर्छ । नत्र गठबन्धनमा बस्नै पर्छ भन्ने छैन् भनेर अध्यक्षज्यूले देउवाजीसँग कुरा गरिराख्नु भएको छ’, माओवादीका एक शिर्ष नेताले दैनिक नेपालसँग भने ।

गठबन्धनका शीर्ष दल माओवादी र कांग्रेस सबैलाई मिलाएर जाने भन्दा आफ्नो स्वार्थ पूरा गर्ने खालको बटमलाइनमा अडान लिँदा अन्य दलहरु भने रुष्ट बनेका छन् । न्यायोचित र सम्मानजनक सिट बाँडफाँट गर्न शिर्ष दलहरु तयार नभए हालको गठबन्धनवाहेक बिकल्प खाज्ने ती दलहरुको तयारी छ ।

प्रतिक्रिया
सम्बन्धित