शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

वामदेव गौतमले भने-‘चुनाव जित्न माओवादी रोजेँ’

दैनिक नेपाल २०७९ साउन ३१ गते १६:३९

काठमाडौं, ३१ साउन । राष्ट्रियसभा सदस्य वामदेव गौतमले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो जित सुनिश्चित गर्न नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न लिएको बताएका छन्।

मंगलबार निर्वाचन आयोग पुगेका गौतमले पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

गौतमले भने, ‘म अहिले सूर्य चिह्न लिएर गएँ भने हार्छु। त्यसो भएर जित्नको लागि म यसमा आएको छु। जित्ने आधार भनेको गठबन्धन हो। हँसिया हतौडाको पछि गठबन्धन छ, गठबन्धन अनेक हिसाबले अरु सबै गठबन्धन र पार्टीभन्दा अघि छ।’ उनले चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको भन्दै जित्नकै लागि माओवादी पार्टीको चुनाव चिह्न लिएको बताए।

उनले भने, ‘हामी गोलाकारभित्र हँसिया हतौडा चुनाव चिह्न लिएर चुनावमा जाने भन्ने प्रचण्ड र मेरो बीचमा सहमति भयो‚ समझदारी बन्यो। त्यसअनुसार जाँदा कानूनी प्रक्रिया के छन्, भोलि गाह्रो पर्ने हो कि, सजिलो हुन्छ कि, कसरी मिल्नसक्छ भन्ने सन्दर्भमा कानून विभागका प्रमुखसँग सल्लाह गर्न आएको हुँ।’

उनले इमान्दारीसाथ गठबन्धन गर्ने हो भने अन्य पार्टीले जित्ने ठाउँ र आधार नरहेको जिकिरसमेत गरे। उनले गठबन्धनमा नै विद्रोही निस्किएको खण्डमा केही ठाउँमा अन्य पार्टीले जित्ने तर पनि गठबन्धन अगाडि नै रहने दाबी गरे।

‘माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर गएपनि म स्वतन्त्र हो, त्यसरी मैले भूमिका निर्वाह गर्छु सदनमा। प्रत्यक्षमा उम्मेदवार दिनुभन्दा पहिले मैले राष्ट्रियसभा सदस्यको पद छोड्नुपर्छ। छोडेर राजीनामा स्वीकृत भएको व्यक्ति भएर आफैँ प्रमाण बनेर उम्मेदवार दिन जानुपर्छ’, उनले भने ।

प्रतिक्रिया
सम्बन्धित