काठमाडौँ, २५ साउन । गत साउन २० गते आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गर्ने भन्दै सत्तारुण पाँच दलले सहमति पत्र सार्वजनिक गरे । सोही निर्णयलाई आधार बनाएर चुनावमा सिट बाँडफाँट गर्न पाँच दलका ११ सदस्यीय कार्यदल गठन भयो ।
नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदलको सदस्य बने ।

तर, सत्तामा नै रहेपनि डा. बाबुराम भट्टराईको नेतृत्वमा खोलिएको नयाँ पार्टी नेपाल समाजवादी पार्टी (नेसपा) बाट भने कार्यदलमा अटाएनन् । नेसपा बिनै सत्ता गठबन्धनको भागबण्डा मिलाउन बनेको कार्यदलको बैठक गत आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्यो । सिट बाँडफाँडको बिषयमा सामान्य छलफल पछि उक्त बैठक साउन २६ गते पुनः बस्ने गरी टुङ्गीयो ।
कार्यदल बनाउँदा देखि कार्यदलको पहिलो बैठकसम्म गठबन्धनमा नेसपा अटाएन् । अन्तःत गठबन्धन बिना आफ्नो अस्तित्व बचाउन नसक्ने कुरा बुझेका डा. भट्टराई मंगलबार (हिजो) प्रम निवास पुगेर शेरबहादुर देउवासँग सत्ता गठबन्धनमा सामेल गराईदिन भन्दै ‘लम्पसार’ परे । भट्टराईसँगै नेसपाका अर्का अध्यक्ष महेन्द्र यादव पनि देउवालाई गठबन्धनमा सामेल गराईदिन अनुनय गर्न भ्याए ।
नेसपाका दुई अध्यक्ष निवासमै पुगेर ‘लम्पसार’ पर्दै गठबन्धनमा मिलाएर लैजान भन्दै अनुनय-विनय गरेपछि देउवा पग्लिए । नेकपा एमाले नेतृत्वको सरकार ढलाएर आफुलाई प्रम बनाईदिएको गुनको पैचो तिर्ने देउवाले आश्वासन दिएर पठाए ।
देउवाको आश्वासन पाएपछि आफ्नो र पार्टीको अस्तित्व बच्ने संकेत पाएसँगै प्रम निवासबाट निस्किएर नेसपाका अध्यक्ष यादवले पत्रकारसँग हौसिएर भनेका छन्, ‘प्रधानमन्त्रीसँग हामीलाई पनि ५ दलीय गठबन्धनमा समेट्न भन्यौं । उहाँले सकारात्मक जवाफ दिनुभयो ।’
तर, बाबुराम भट्टराई भने देउवाको आश्वासनमा अझै ढुक्क देखिँदैनन् । कारण, उनले अघिल्लो स्थानीय तहको निर्वाचनमा देउवाको आशीर्वाद पाएपनि आफ्नै गृह जिल्लासँगै अन्य पालिकाहरुमा पनि लज्जास्पद हार ब्यहोर्नु परेको थियो ।
देउवालाई भेटेर फर्किएपछि बाबुरामले आफ्नो सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, ‘प्रम शेरबहादुर देउबासंग नेपाल समाजवादी पार्टी (नेसपा) को पहिलो औपचारिक भेट र समसामयिक राजनीतिक विषय र आगामी निर्वाचनवारे सार्थक छलफल, वर्तमान गठबन्धन निर्माणमा शुरूदेखि नै नेसपा नेताहरूको महत्वपूर्ण योगदान रहेको तथ्यलाई गठबन्धन दल र नेताहरूले नभुल्ने अपेक्षा !’
एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर कांग्रेस सभापति देउवा नेतृत्वको सरकार बनाउन आफ्नो दलका नेताहरूको महत्वपूर्ण योगदान रहेको भन्दै भट्टराईले सामाजिक सन्जाल मार्फत पनि सत्तारुढ दलहरुसँग हदै सम्मको ‘लाचारी पन’ देखाएका छन् ।
देउवाले आगामी निर्वाचनमा नेसपालाई सँगै लिएर जाने आश्वासन दिए पनि अन्य दलहरु त्यसलाई स्वीकार गर्छन् ? या गर्दैनन् त्यो भने हेर्न बाँकी नै छ । भोली (बिहिबार) सत्ता गठबन्धनले बनाएको कार्यदलको बैठक हुनेछ । सो बैठकमा छलफल भए पश्चात नेसपालाई पनि सँगै लिएर जाने ? या नेसपा बिनै अघि बढ्ने भन्ने आधिकारीक निर्णय बाहिर आउनेछ । नेसपालाई पनि चुनावी गठबन्धन र तालमेलमा सहभागी गराउन सहभागी भए भने अहिलेकै अबस्थालाई हेर्दा एमाले बिरुद्ध ६ दलीय गठबन्धन हुनेछ ।















प्रतिक्रिया