
काठमाडौं । गण्डकी प्रदेशका नागरिकले अब घरजग्गाको नामसारी गर्दा गत वर्षको तुलनामा ४२८ प्रतिशत बढीसम्म कर बुझाउनुपर्ने भएको छ।
प्रदेश सरकारले घरजग्गा नामसारीमा न्यूनतम ३०० देखि अधिकतम ४२८ प्रतिशतसम्म सेवा शुल्क बढाएको हो। प्रदेशका नागरिकले तीन पुस्ताभित्रको नामसारी गर्दा महानगर भए पाँच हजार, नगरपालिकामा तीन हजार र गाउँपालिकामा एक हजार पाँच सय रुपैयाँ शुल्क लाग्ने भएको छ।
गत वर्ष महानगरमा १५ सय, नगरपालिकामा एक हजार र गाउँपालिकामा पाँच सय रहेको थियो। सबैमा साढे २०० प्रतिशत हाराहारी शुल्क बढाइएको छ।
तीन पुस्ता बाहिरकाले भने झनै महँगो शुल्क तिर्नुपर्ने बनाइएको छ।
महानगरमा यसअघि ३५ सय लिने गरिएकोमा १५ हजार, तीन हजार रहेको नगरपालिकामा १० हजार र १५ सय रहेको गाउँपालिकामा पाँच हजार रुपैयाँ तिर्नुपर्ने भएको छ। हाल साबिक दस्तुर महानगरमा चार सयबाट एक हजार, नगरपालिकामा दुई सयबाट पाँच सय र गाउँपालिमा १०० बाट २०० पुगेको छ। संशोधन शुल्कमा पनि दोब्बर वृद्धि गरिएको छ।
सरकारले महिला, ७० वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिक र नाबालकको लिखतमा भने २५ प्रतिशत छुट दिएको छ। एकल महिलाको हकमा ३५ प्रतिशत छुट छ। मनाङको नार्पाभूमि, नासौँ र मनाङ ङिस्याङ गाउँपालिका, मुस्ताङको थासाङ, लो घेकर, बारागुङ मुक्तिक्षेत्र र लोमान्थाङ तथा गोरखाको चुमनुब्री गाउँपालिकामा ५० प्रतिशत छुट दिएको छ।











प्रतिक्रिया