
काठमाडौं, ३ साउन। प्रहरी प्रधान कार्यालय नक्सालले केही दिनमा नै रिक्त रहेका जिल्लामा प्रहरी उपरिक्षक (एसपी) पठाउन लागेको छ भने कतिपयमा सरुवाको तयारी पनि गरेको छ।
सरुवाका लागि राजनीतिक दलको सिफारिस वा दबाबमा काम नहुने, त्यस्ताको मुल्यांकन नै कमजोर बनाउने चेतावनी प्रहरी महानिरिक्षक (आईजी) धीरजप्रताप सिंहले जिम्मेवारी सम्हाल्नासाथ भनेका थिए।
तर केही एसपी भने त्यस्तो निर्देशनको उल्लंघन गर्दै आईजीलाई दबाबमा राखी रोजेको जिल्ला जाने तयारीमा छन्। ति मध्य एक हुन् एसपी अजय केसी। कास्कीका लागि एसपी दीप शमशेरलाई जिम्मेवारी दिने तयारीमा आईजी सिंह रहे पनि उनलाई दबाब दिन प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाका स्वकीय सचिव (पिए) प्रकाश देउवाको व्यापक दबाब रहेको उच्च स्रोतले जानकारी दियो।
स्रोतका अनुसार आईजी सिंहलाई दबाब दिने परोक्ष खेलमा गण्डकी प्रदेशका मन्त्री विन्दुकुमार थापा पनि लागेका छन्। थापा उनका छोरा सौगात थापाको दबाबका आधारमा सिफारिस गर्न परोक्ष रुपमा सक्रिय रहेका छन्। सौगात पोखरा क्षेत्रमा विवादीत, गुन्डाहरूसँगको सम्बन्ध कायम राख्ने युवाका रुपमा बिख्यात रहेको बताइन्छ।
विन्दुकुमार पोखरा क्षेत्रमा धनाड्य मन्त्रीका रुपमा चिनिन्छन्। गण्डकी प्रदेश सरकारमा रहेका मन्त्रीहरू मध्य उनी सबैभन्दा सम्पन्न छन्। आर्थिक प्रभावका कारण नै उनले डोबाटे विश्वकर्माको मन्त्री पद खोस्न सफल भएको पनि बताइन्छ। उनलाई बालुवाटारको आशिर्वाद रहेकै कारण गण्डकीका मुख्यमन्त्रीले डोबाटेलाई ‘बाध्यताका कारण मन्त्री बनाउन सकिएन’ भन्ने जवाफ दिएका थिए।
नेपाल प्रहरीले दर्जनभन्दा बढी जिल्लाका एसपी सरुवा निकाल्ने तयारी गरेको छ। सुनसरी, बारा, रौतहट, मकवानपुर, कपिलवस्तु, डोटी र बागमती ट्राफिकका एसपीहरु एसएसपी बढुवा भएकाले रिक्त छन्। सुनसरी, कास्की र बाँकेका एसपीको एक बर्ष पुगिसकेकाले सरुवा निकाल्ने तयारी भएको छ।
एसपी रमेश थापाले गुण्डानाइके एलजी समूहका ललित गुरुङलाई पक्राउ गर्न खोज्दा मन्त्रीपुत्र सौगातकै खेलका कारण रोकिएको थियो। गुरुङ गृहमन्त्री बालकृष्ण खाँणसँग सिधा सम्पर्क भएका व्यक्ति हुन्। उनी मन्त्रीलाई बधाई दिनका लागि हरिहरभवन नै पुगेको तस्बिर सार्वजनिक भएको थियो।















प्रतिक्रिया