
काठमाडौँ, ३ असार । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच नयाँ सहमतिको चर्चा उजागार भएको छ ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आलोपालो प्रधानमन्त्रीको सहमति भइसकेको बताइएको छ ।
आगामी संसदीय निर्वाचनमा सत्तारुढ गठबन्धनबीच तालमेल कायम राख्नका लागि देउवा र प्रचण्डबीच आलोपालो प्रधानमन्त्रीको भद्र सहमति भएको बताइन्छ ।
उता चुनावी तालमेलका लागि कांग्रेसले आफ्नो पार्टीमा निर्णय समेत गराइसकेको छ भने माओवादीमा प्रचण्डको निर्णय सर्वैसर्वा हुने गर्दछ । प्रचण्डले यसअघि नै सार्वजनिक रुपमै आलोपालो प्रधानमन्त्रीको कुरा उठाइसकेका छन् ।
विशेषगरी बाम तालमेलको कुरा पेचिलो बनिरहँदा देउवाले प्रचण्डलाई आफ्नोतर्फ पार्न प्रधानमन्त्रीको गोटी फ्यालेको पनि विश्लेषण गरिन्छ । प्रचण्डले पनि यसअघि नै आलोपालो प्रधानमन्त्रीको विषयमा उठाएका थिए ।
त्यतिमात्र होइन गठबन्धनले कांग्रेसलाई मात्रै फाइदा गरेको विश्लेषण गरेका प्रचण्ड अहिले चुप छन् । देउवा-प्रचण्डबीच आलोपालो प्रधानमन्त्रीको भद्र सहमतिले नै प्रचण्डको मौनता देखिएको समेत बताइएको छ ।
नेकपा एकीकृत समाजवादीका झलनाथ खनाललगायतका नेताहरुले बाम तालमेलका कुरा अघि बढाइरहेका छन् । त्यस्तै, नेकपा एमालेले पनि सच्चिएर आए चुनावमा बाम तालमेल हुनसक्नेतर्फ संकेत पनि गरेको छ ।
त्यस्तै, माओवादीका नारायणकाजी श्रेष्ठले सार्वजनिक रुपमै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बाम एकता तत्काल नसकिने हो भने पनि बाम तालमेल गर्न नेतृत्व लिन आग्रह गरेका थिए ।
बाम गठबन्धनको पक्षमा माओवादी, नेकपा एस तथा एमालेका एक तहका नेताहरु लागिरहेका बताइन्छ ।
यही तथ्य बुझेर देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाउने आश्वासन दिएका हुन् ।















प्रतिक्रिया